Logo

रहेनन् पाकिस्तानी परमाणु वैज्ञानिक अब्दुल कादिर खान



एजेन्सी, २४ असोज। पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र बनाउन नेतृत्व गरेका परमाणु वैज्ञानिक अब्दुल कादिर खानको निधन भएको छ । खानको ८५ वर्षको उमेरमा आइतबार बिहान उपचारको क्रममा निधन भएको हो । खानको नेतृत्वमा पाकिस्तानले सन् १९९८मा परमाणु हतियारको सफल परीक्षण गरेको थियो । पाकिस्तान परमाणु हतियार निर्माण गर्ने पहिलो इस्लाम मुलुक हो ।

पाकिस्तानी प्रधानमन्त्री इमारन खानले उनको निधनप्रति दुःखद व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्,’पाकिस्तानलाई परमाणु हतियार सम्पन्न बनाउन महत्वपूर्ण भूमिका खेलेका कारण पाकिस्तानी जनताले धेरै माया गर्थे । ‘ सन् २००६ मा प्रोस्टेट क्यान्सर उपचारको क्रममा शल्यक्रिया गरिएको थियो । पछिल्लो समय उनी अस्वस्थ्य भएपछि अस्पताल भर्ना गरिएको थियो ।

परमाणु प्रविधि बेचेको कारण विवादमा परेका खानले सन् २००४ मा त्यहाँको एक सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उत्तर कोरिया, लिबिया र इरानलाई परमाणु प्रविधि उपलब्ध गराएको स्वीकार गर्दै त्यसका लागि माफी मागेका थिए । खानलाई सन् २००४ मा राजधानी इस्लामाबादमा तीन देशहरूमा प्रसार सञ्जाल चलाएको स्वीकार गरेपछि घरमा नै कडा नजरबन्दमा राखिएको थियो ।

सन् २००६ मा खानलाई प्रोस्टेट क्यान्सर भएको थियो तर शल्यक्रियापछि उहाँलाई उक्त समस्या निको भएको थियो । पाकिस्तानी अदालतले उहालाई नजरबन्दबाट रिहा गर्न आदेश दिएपछि फेब्रुअरी २००९ मा उहाँले खुला हिँडडुलका लागि अनुमति पाउनु भएको थियो । –Photo: Agency



प्रतिक्रिया दिनुहोस्