Logo

‘पर्यटन विकासका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक’



पोखरा, २४ असोज: गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । पोखरा पर्यटन परिषद्ले दशैं, तिहार तथा छठका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बरालले पर्यटन आर्थिक समृद्धिको आधार भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन विकासमा जुट्न प्रदेश सरकार तयार रहेको बताए ।

उनले कोभिड– १९ को महामारीले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन पोखराको हिमा गृह, रत्न मन्दिरलगायत नयाँ पर्यटकीय गन्तव्य खुलाउन पहल गर्ने प्रतिबद्धता जनाए । उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात पर्यटकका लागि सुरक्षित गन्तव्यमा पु¥याउन फाष्ट ट्र्याकको आवश्यकता औल्याउदै यसमा ध्यान दिने बताए ।

पर्यटनलाई निर्वाहमुखी र तटस्थतावादी सोचबाटमाथि उठाउन जरुरी रहेका औल्याउँदै सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सफल पार्न निजी क्षेत्र र सरकारबीच छलफल गरेर कार्ययोजना तय गर्नुपर्नेमा उनले जोड दिए ।

उनले महामारीको सामना गरिरहेका व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट आवश्यक सहयोग नभएको गुनासोलाई सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले लेकसाइड पर्यटनको मुटु भएकाले यसलाई जोगाउनुपर्ने आवश्यता रहेको जनाउँदै पर्यटन मैत्री वातावरणका लागि तीनै तहको सरकारले ध्यान दिन जरुरी रहेको औल्याए ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले पोेखराको पर्यटन चलायमान बनाउन सरकारले विशेष प्याकेजसहित कार्यक्रम ल्याउन आग्रह गरे । उनले पर्यटन आर्थिक समृद्धिको आधार भनेर भनिरहँदा पर्यटन क्षेत्रमा लगानी गर्न सरकारले चासो नदिएको बताए ।

कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोकर्ण कार्की, परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, सचिव तारानाथ पहारी लगायतले पर्यटन पुनरुत्थानको आवश्यता सम्बन्धी धारणा राखेका थिए ।-रासस



प्रतिक्रिया दिनुहोस्