Logo

‘माधव नेपालजस्तो कम्युनिष्टका नाममा कलंक र भ्रष्टाचारको सुरुवात गर्ने व्यक्तिले केपी ओलीलाई चुनौति दिँदा माथि फर्केर थुकेकोजस्तो मात्रै हो’ : खगराज अधिकारी



नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले माधव कुमार नेपाललाइ कम्युनिष्टको नाममा कलंक र भ्रष्टाचारको सुरुवात गर्ने व्यक्तिको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘माधव नेपालजस्तो कम्युनिष्टका नाममा कलंक र भ्रष्टाचारको सुरुवात गर्ने व्यक्तिले केपी शर्मा ओलीलाई चुनौति दिँदा माथि फर्केर थुकेकोजस्तो मात्रै हो ।’ उनले भ्रष्टाचार गरेको प्रमाणित गरे आफूहरुले राजनीतिबाट सन्यास लिने पनि घोषणा गरे । प्रस्तुत छ नेता अधिकारीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब नेकपा (एमाले) ले संसद्मा के गर्छ ?

तपाईंहरुले देख्नुभएको छ, यो दुई/चार दिन यताको घटनाहरुले देशको संविधान, कानुन सबै च्यातचुत पारेर यो सरकार बन्यो । कसैको पार्टी बनाइदियो । अदालतप्रति निर्लज्ज रुपमा शक्ति पृथकीकरणको सिद्धान्त र संविधानवादको विरुद्ध कसरी लागेको छ भन्ने कुरा सर्वसाधारण जनताले बुझेका छन् । त्यसैले हामीले संसद्मा जुन कुरा उठाएका छौं । त्यो कुरा सही थियो भन्ने कुरा झनै प्रमाणित भएको छ । त्यसकारणले हाम्रो जुन अडान थियो, त्यसमा हामी दृढतापूर्वक रहन्छौं ।

तपाईंहरुको अडान भनेको के हो ?

प्रष्ट छ नि–सभामुखले प्रचलित नियम, कानुन र परम्पराविपरितको जुन काम गर्नुभएको छ । त्यो काम नसच्चिदाँसम्म हाम्रो विरोध रहन्छ । हामीले यसैमा विरोध गरेका हौं, यो कुरा प्रष्ट छ । यसमा लामो कुरा गर्नुनै छैन् ।

तर, संसद् चल्न दिनुपर्छ नि होइन् ? तपाईंहरुले संसद्मा आफ्नो कुरा राख्दा हुँदैन ?

संसद् चल्न हामीले नदिएका होइनौं । उहाँहरुले संसद चलेको बेला के गर्नुभयो र ? अकस्मात संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनुभयो । फेरी संसदबाटै फिर्ता लिनुभयो । त्यसको औचित्य उहाँहरुले पुष्टि गर्न सक्नुहुन्छ ? उहाँहरुले गरेको संविधानविरोधी र अपराधिक कामको विरोध नगर्ने हो भने संविधान बाँकी रहन्छ र ? सत्तापक्ष त निर्लज्ज रुपमा परमादेशबाट बनेको सर्वोच्च अदालतको प्रधानन्यायाधीश र न्यायाधीशहरुसँग लेनदेन गरेर बनेको भन्ने कुरा हिजो बहस गरेकै वरिष्ठ अधिवक्ताहरु भन्न थालिसके । त्यसकारण हामीले जे कुरा उठाएका थियौं, त्यो सही छ भन्ने कुरा पनि प्रमाणित भयो । हाम्रो विरोध सही छ ।

प्रतिनिधिसभा भनेको जनताको थलो हो, त्यहाँ जनताका प्रतिनिधिहरु बोल्न पाउनुपर्दैन ?

बोल्न पाईन्छ, हामीहरुले बोलिरहेकै छौं त ।

संसद् चल्न दिनुपर्छ भन्ने विषयमा नेकपा (एमाले) भित्र पनि बहस भइरहेको हो ?

होइन्, संसद चल्नुपर्छ भनेर त हामीले भनिरहेकै छौं । संसद चलाउने काम त सभामुखले गर्नुपर्यो । सत्तापक्षले गर्नपर्यो । सत्तापक्ष अपराधपूर्ण काम गर्दै हिँडेको छ । संविधान र कानुन मिच्दै हिँडेको छ । उसलाई संसद्को आवश्यकता नै छैन्, परमादेशबाट बनेको सरकार अध्यादेशबाट चल्न खोजिरहेको छ । तपाईंले देख्नुभएन निजामती विधेयक ? निजामती विधेयक जो अन्तिम चरणमा पुगेको थियो सरकारले फिर्ता लिएको छ । सरकारले जे चाहिन्छ त्यो गरिरहेको छ । कहाँ रोकिएको छ र ? बजेट पनि तपाईंले देख्नुभयो होला । विदेशका तस्करहरुलाई स्वागत गरेको छ, कालोधनलाई सेतो बनाउन बाबुराम भट्टराई र जनार्दन शर्माजीहरु भनिरहनुभएको छ । नेपाललाई असफल राष्ट्र बनाएर भोलि कालो सूचीमा पारेर नेपाल अर्थतन्त्र डामाडोल हुने मुलुकमा जाँदैछ । विश्व बैंक, एसियाली विकास बैंक, आईएमईएफ लगायतका हाम्रा विकासका पार्टनरहरुलाई समेत सशंकित बनाइसकेको छ । यस्तो अवस्थामा यो सरकार र सभामुख हुनुको अर्थ केही छ ?

अहिलेको अवस्थामा अदालतप्रति तपाईंहरुको दृष्टिकोण के हो ?

अब त प्रष्ट भएन र ? अदालतले न्यायको घाँटी निमोठ्ने काम अहिलेको नेतृत्वले गरिरहेको छ भनेर हामीले भन्दापनि हिजो परमादेशबाट प्रधानमन्त्री बनाइदेउ भनेर ड्राप्ट गर्न लगाएका ड्राप्टनै दिएर संयुत्त mरुपमा ड्राप्ट गरेका फैसला ड्राप्ट गर्नेहरु नै आज भनिरहेका छन्, यो त दुनियाले बुझेकै छ । त्यसकारण यति धेरै निर्वस्त्र भएर अदालत, गठबन्धन र सभामुख लागेको कुरा त छर्लङ्गै भयो नि ।

माधवकुमार नेपालले हिजो एउटा कार्यक्रममा बोल्नुभयो, केपी शर्मा ओली सच्चिए भने हामी एकपटक सोच्न सक्छौ भनेर, यस विषयमा के भन्नुहुन्छ ?

यो हाम्रो पार्टीलाई बारम्बार उहाँले के गर्नुभयो भने आधा सच्चियो भनेर पनि शेरबहादुरको सरकारमा छिराउने पनि उहाँनै हो । अनि शेरबहादुरसँग मिलेर प्रचण्डलाई संकटकाल लगाएर ६ महिना थप्ने पनि उहाँ नै हो । बहुदलीय व्यवस्था ल्याउनुपर्छ भन्दा भारतबाट हतियार र मान्छे ल्याउनुपर्छ भन्ने पनि उहाँ नै हो । अनि त्यसपछि राजतन्त्रको बारेमा जनमतसंग्रह गर्नुपर्छ, कहाँ यसरी हुन्छ भन्ने पनि उहाँ नै हो । अनि हामीले सातौं महाधिवेशनमा संविधानसभाको प्रस्ताव राख्यौं जसले गर्दा शान्ति प्रक्रिया अगाडि बढ्छ भन्दा सबै अप्सन ओपन गर्नपर्छ, संविधानसभा गर्न हुँदैन भनेर बहुमतको आडमा त्यो विषयलाई उहाँले अगाडि बढाउन नदिने पनि उहाँ नै हो । त्यसकारण उहाँले यी सबै कुरा इतिहासमा मैले गल्ती गरेको थिएँ भनेर सच्याउनुहुन्छ भने र काम गर्ने दौरानमा हिजो के÷के कमि कमजोरीहरु भए समिक्षा गर्दै हामीले सबै नेताहरुलाई स्वागत नै गर्छौं ।

तर, माधवकुमार नेपालले केपी शर्मा ओलीको पालामा गरेका सबै भ्रष्टाचारको छानबिन गर्नुपर्छ पनि भन्नुभएको छ, उहाँले ओम्नी, यति र झापाको चिया बगानको कुरा गर्नुभएको छ, अब तपाईंहरु के गर्नुहुन्छ ?

एउटा मात्रै प्रमाण देखाएपछि हामी राजनीतिबाट सन्यास लिन्छौं । उहाँलाई चुनौती के छ भने ललिता निवासको सेटिङ गर्न नै गजेन्द्र हमाललाई मन्त्री बनाउन लाग्नुभएको कुरा दुनियाँले बुझेको छ । अर्को ओम्नीको कुरामा ओम्नीको सेटिङले अहिले स्वास्थ्य सेवा बिभागमा म्याद सकिएको व्यक्तिलाई म्याद थपेर कानुन मिचेर स्वास्थ्य सेवा बिभागको महानिर्देशक बनाइएको छ । त्यो काम माधवकुमार नेपालको सिफारिसमा भएको हो र अहिले स्वास्थ्य मन्त्रालय उहाँले लिनुभएको हो भन्ने कुरा दिउँसोको घामजस्तै छर्लङ्ग प्रमाणित छ । हिजो फोहोर मैला व्यवस्थापनको ९ करोड दिने मान्छे पनि उनी नै हुन् । आज तीनै व्यक्तिको सिफरिसमा स्वास्थ्यसेवा विभागको महानिर्देशक बनाईएको छ । र, सिनियरलाई मिचेर जुनियरलाई ल्याइएको छ । जसको म्याद सकिएपछि म्याद थप्न मिल्दैमिल्दैन्, विशेषज्ञ सेवाका लागि एक वर्षलाई मात्रै लिन सकिन्छ । बैठकमा आरजु देउवामात्र होइन्, माधवकुमार नेपालसमेत मिलेर त्यो काम भएको हो । यो कुरा घामजस्तै छर्लङ्ग नै रहेको छ । कम्युनिष्टका नाममा कलंक र भ्रष्टाचारको सुरुवात गर्ने व्यक्तिले केपी शर्मा ओलीलाई चुनौति दिँदा माथि फर्केर थुकेकोजस्तो मात्रै हो ।



प्रतिक्रिया दिनुहोस्