Logo

मानिस झुन्डिएर मरेको डोरी करोडौँमा बिक्रि हुने भन्दै महिलाको हत्या, ३ जना पक्राउ



काठमाडौं, २४ असोज । मानिस झुन्डिएर मरेको डोरी करोडौँमा बिक्रि हुने भन्दै एक महिलाको हत्या गरिएको छ । नवाकोटकी ४५ वर्षीया कमला तामाङको हत्या गरेको डोरी करोडौमा बिक्छ भन्दै हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरका सविन प्रजा, उनकी श्रीमती प्रविना प्रजा र सुमन मगर रहेका छन् । मृतक तामाङ ललितपुरको सु्नाकोठीको एउटा टहरोमा बस्दै आएकी थिइन् । उनको भदौ २४ गते हत्या भएको हो ।

मानिस मरेको डोरी महंगोमा बिक्रि हुन्छ भन्ने सुनेर हत्याको योजना बनाएर सोही अनुसार कमलाको हत्या गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार भदौ २४ गते साढे ४ बजे मृतक कमलाको टहरोमा गएको मादकप्रदार्थ सेवन गरी हात बाँधेर डोरीले घाँटीमा कसी हत्या गरेका थिए ।

हत्यापछि उनले लगाएको गरगहना र मोबाइल समेत लुटपाट गरेका थिए । पक्राउ परेका तीनै जनाबारे अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्