Logo

पाकिस्तानलाई आणविक शक्तियुक्त पहिलो इस्लामिक देश बनाउने अब्दुलको निधन



एजेन्सी, २४ असोज । पाकिस्तान आणविक हतियार सम्पन्न विश्वकै पहिलो इस्लामिक देश हो । यसको श्रेय अब्दुल कदिर खानलाई जान्छ जसलाई पाकिस्तानको आणविक कार्यक्रमको पिता भनिन्छ ।

खानको आज निधन भएको छ । ८५ वर्षीय खानको इस्लामावादस्थित अस्पतालमा निधन भएको हो ।

अब्दुल खानलाई खतरनाक व्यक्तिका रुपमा पश्चिमा देशहरुले लिने गरेका थिए । उनले आणविक प्रविधिलाई पश्चिमाहरुले दुष्ट सुचीमा राखेका देशहरुमा पुर्याएको आरोप लाग्दै आएको थियो । ती देशहरुमा इरान, लिबिया र उत्तर कोरिया हुन् ।

सन् २००४ मा आणविक प्रविधिको तस्करीको आरोप लागेपछि खानलाई घरमै नजरबन्दमा राखिएको थियो । उनलाई सन् २००६ मा प्रोस्टेट क्यान्सर भई शल्यक्रिया गरिएको थियो । सन् २००९ मा उनको घरमा नजरबन्द फुकुवाको आदेश अदालतबाट आएको थियो । तर, उनलाई कडा निगरानी र सुरक्षामा राखिएको थियो ।

सन् १९३६ मा भारतको भोपालमा जन्मिएका खानको परिवार विभाजनका समय पाकिस्तान बसाईं सरेको थियो । कराँची विश्वविद्यालयबाट विज्ञानको डिग्री लिएका उनी बर्लिन, नेदरल्यान्ड र बेल्जियममा अध्ययनका लागि पुगेका थिए ।-Photo Source: AP



प्रतिक्रिया दिनुहोस्