Logo

मन्त्रीबाट राजीनामा दिएका गजेन्द्र हमाल भन्छन् : म जीवनमै आज धेरै खुशी छु, मन हल्का भयो (भिडिओसहित)



काठमाडौं, २४ असोज । आजमात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट राजीनामा दिएका गजेन्द्रबहादुर हमालले आजको दिन सबैभन्दा खुशीको दिन भएको प्रतिक्रिया दिएका छन् ।

मन्त्रीबाट राजीनामा दिएपछि पहिलोपटक पत्रकार ऋषि धमलालाई प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रमको लागि अन्तर्वार्ता दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफूले स्वविवेकले पदबाट राजीनामा दिएको पनि खुलासा गरेका छन् । उनले आफूले मन्त्री बनाईदिनुपर्यो भनेर प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा दुवैलाई नभनेको भन्दै पशुपतिनाथको किरियासमेत खाए ।

उनले आफू अहिले पनि नेपाली कांग्रेसमा सक्रिय रहेको सुनाए । आगामी १४औं महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने पनि घोषणा गरे ।

आफूले गुरुको सल्लाहमा राजीनामा दिएको र राजीनामा दिनुभन्दा पहिले नै पत्रकार धमलालाई भनेको पनि सुनाए । आफूलाई मन्त्री बनाउनको लागि प्रधानन्यायाधीशको कुनै हात नरहेको उनको दाबी छ ।

उनले अहिले पनि आफू श्रीमतीको उपचारको लागि काठमाडौंमा आएको पनि सुनाए । मन्त्री बन्नको लागि आफू काठमाडौं नआएको पनि उनको स्पष्टीकरण थियो ।

उनले मन्त्री बन्नुअघि पनि आफूले प्रधानमन्त्री देउवालाई नभेटेको बरु शितलनिवासमा भेट भएको सुनाए । उनले आफूलाई मन्त्री बनाउने पक्षमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पनि रहेको खुलासा गरे ।



प्रतिक्रिया दिनुहोस्