Logo

अर्थतन्त्रलाई दशैँको आड



काठमाडौं, असोज २५ । दशैँ शब्दले मात्र पनि धेरै हिन्दु नेपालीका मनमा एउटा उमङ्ग सञ्चार गर्छ । वर्षायाम अन्त्यपछि खुलेको सफा आकासजस्तै दशैँले भागदौडको जिन्दगीबाट केही समय निकालेर मनलाई सफा अनि आनन्दित पारिदिन्छ ।

आफूले इच्छाएको लाउनेखानेदेखि घुमघाम अनि भेटघाटसम्मको त्रिवेणी बनेको छ यो चाड । त्यसैले परम्परागत धार्मिक चाडको सीमाबाट दशैँ पछिल्लो समय बाहिर निस्किएको छ । केही दशकयता दशैँ आसपास बढ्ने अधिक चहलपहलले धार्मिक तथा सांस्कृतिक पर्व दशैँ आर्थिक पर्वमा रूपान्तरण हुँदैछ । परिणामस्वरूप दशैँ नेपालको आर्थिक गतिविधि हुने उच्चतम समय बनेको छ ।

दशैँसँगै जोडिन्छन्, आमनेपालीका वर्षभरिका खास योजना । सबैभन्दा लामो सार्वजनिक बिदाको सदुपयोग गर्दै घुमघाम गर्ने प्रवृत्तिले आन्तरिक पर्यटन फस्टाएको मात्रै छैन, अर्थतन्त्रका लागि एक ठाउँबाट अर्को ठाउँमा चलायमान बनाइदिएको छ । दशैँलक्षित किनमेलको आकार यति ठूलो छ कि नेपालीको कुल उपभोगमध्ये करिब २० प्रतिशत यही समयमा हुन्छ ।

सवारीसाधन तथा धनसम्पत्ति जोड्ने नयाँ माध्यम पनि बनेको छ दशैँ । सपरिवार सँगै बसेर मिठोमसिनो खाने प्रचलनले दशैँ विगतदेखि नै खानपिनको चाडका रूपमा पनि स्थापित छ । विदेशिएका र सहर पसेकाहरूको घर फर्कने ‘सेड्युल’ दशैँले नै जुराइदिन्छ । अर्थतन्त्रका अनेक आयामसँग दशैँ जोडिएकाले विगतमा जस्तो धार्मिक चाडको परिचयले दशैँको परिभाषा पूर्ण हुँदैन । दशैँसँग गाँसिएका भावनात्मक सम्बन्धले यसको परिचयको आयाम पनि बढाइदिएको छ । अर्थतन्त्रका लागि दशैँ आर्थिक गतिविधि एकैपटक फैलाउने माध्यम बनेको छ । त्यसैले नेपाली समाजका लागि दशैँको महìव अवर्णनीय छ ।

विगत दुई वर्षदेखि कोभिड–१९ ले आक्रान्त जनजीवन यसपटक केही सहज बनेको छ । त्यसैले हुनुपर्छ विगतमा दशैँको समयमा पनि घरभित्र गुम्सिनुपरेको बाध्यता यसपटक सहरका हरेक स्थानमा भीडभाड बनेर बाहिरिएको छ । किनमेल बढेको छ, विगतमा घर फर्किन नपाएकाको चाप उस्तै छ, घुमघामका तयारी बनिरहेका छन्, खानपिनको जोहो सुरु भइसकेको छ । त्यसैले यसपटक दशैँ अघिल्ला वर्षको तुलनामा केही खास छ ।

कोभिड आक्रान्तबाट बाहिरिएर यसपटक त दशैँ मज्जाले मनाउने हो भन्ने मान्यता धेरैको देखिन्छ । जसको प्रत्यक्ष लाभ भने नेपाली अर्थतन्त्रले लिइरहेको छ । दुई वर्ष करिब ठप्पजस्तो बनेको आर्थिक गतिविधि यसपटकको दशैँमा निकै माथि पुगेको छ ।

अर्थतन्त्र चलायमान हुने परिस्थिति बुझेको सरकारले यस वर्ष आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । यस पटकको दशैँमा बढेको अत्यधिक चहलपहलले सरकारको आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्न धेरै सहयोग पुग्ने देखिन्छ ।

मुर्झाएको अर्थतन्त्र यसपटक बौरिने प्रयास गरिरहँदा दशैँ त्यसको सबैभन्दा बलियो आड बनेको छ । अनौपचारिक तथ्याङ्कअनुसार कुल अर्थतन्त्रको २० प्रतिशत अर्थात् करिब सात खर्ब रुपियाँ आसपासको आर्थिक गतिविधि दशैँको समयमा नै हुन्छ । दशैँलाई आर्थिक चाडका रूपमा परिणत गरिरहेका केही खास क्षेत्रको योगदान र चर्चा लेखमा गरिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्