Logo

मोतीपुरमा आत्मरक्षाका लागि प्रहरीले गोली चलाउनु पर्‍यो, स्थिति सामान्य भएपछि कर्फ्यु हट्छः प्रजिअ तिवारी



काठमाडौं, असोज २५ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले रुपन्देहीको मोतीपुर बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणको प्रयास नियन्त्रणका क्रममा चार जनाको मृत्यु हुन पुगेको बताएका छन् । सुरक्षाकर्मीे संयमित हुँदाहुँदै पनि आत्मरक्षाका लागि गोली चलाउनु परेको उनको भनाइ छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रजिअ तिवारीले भने, “रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणको प्रयास हुन थालेपछि सरकारी सम्पत्ति संरक्षणका लागि जिल्ला प्रशासन कार्यालयले भदौ २८ देखि निषेधाज्ञा जारी गरेको थियो । हिजो दिउँसो ठूलो संख्यामा जम्मा भएको भीडले निषेधाज्ञा तोड्दै सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थाले । धेरै सुरक्षाकर्मी घाइते भए । निषेधित क्षेत्र छाड्न भन्दा पनि बेवास्ता गरेपछि लाठीचार्ज, अश्रुग्यास, हवाई फायरपछि गोली चलाउनुपर्ने दुःखद अवस्था सिर्जना भयो ।”

प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रजिअ तिवारीले बताए । उनले भने, “जनताको जीउधन र सरकारी सम्पत्ति संरक्षण गर्नु हाम्रो दायित्व हो । सुरक्षाकर्मीले संयमता अपनाउन नखोजेका होइनन् । तर आत्मरक्षाका लागि कारबाही गर्नुपर्‍यो । घटनामा नेपाल प्रहरीका १६ जना, सशस्त्र प्रहरी बलका १६ जना घाइते भएका छन् । सर्वसाधारणतर्फ चार जनाको मृत्यु भयो भने १६ जना घाइते भएका छन् । मोतीपुरमा अहिले कर्फ्यु छ । त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थिति सामान्य भएपछि कर्फ्यु हट्छ ।”

घटनापछि समस्याको शान्तिपूर्ण समाधान गर्न सर्वपक्षीय बैठक भएको र मोतीपुरको सार्वजनिक जग्गा संरक्षण गर्न सबै क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता आएको प्रजिअ तिवारीले बताए । उनले भने, “भूमि समस्या समाधान एउटा पाटो हो । राष्ट्रिय भूमि आयोग गठन भइसकेको छ । विगतमा पनि व्यवस्थापनको प्रयास भएको हो । सर्वपक्षीय बैठकले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेको उपचारको व्यवस्था गर्न भनेको छ । धेरैजसो घाइते घर फर्किसकेका छन् ।”



प्रतिक्रिया दिनुहोस्