Logo

‘ओली सरकारको परराष्ट्र नीतिले दुई देशबिचको सम्बन्ध बिग्रियो’



काठमाडौँ, २५ असोज: भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतकाबीचको सम्बन्धलाई विश्वासका आधारमा बलियो बनाउनुपर्छ भनेका छन् । भारत भ्रमणका क्रममा आइतबार वनारसस्थित वनारस हिन्दू विश्वविद्यालय (विएचयू) मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा. महतले यसभन्दा अघिल्लो केपी ओली सरकारको अस्थिर र अपरिपक्व परराष्ट्र नीतिका कारण दुई देशका बीचमा असमझदारी बढेको धारणा राखे।

वर्तमान सरकारले विश्वासमा आधाारित रहेर आफ्ना छिमेकी एवं विश्व समुदायसँग सन्तुलित र परिपक्व परराष्ट्र नीति अख्तियार गर्ने धारणा पनि उनले राखेका थिए । भारत भ्रमणमा रहेको डा. महतसहितको कांग्रेसको प्रतिनिधिमण्डललाई उक्त विश्वविद्यालयका चान्सलर भिके शुक्लाले स्वागत गरेको वनारसबाट डा महतले बताए ।

भारत भ्रमणमा रहेका डा. महतसहित कांग्रेस नेताद्वय उदय शमशेर राणा र अजय चौरसियाले नेपालका पुराना विद्वान्का साथै राजनीतिक दलका नेताले सोही विश्वविद्यालबाट ज्ञान हासिल गरेको प्रसङ्ग उल्लेख गर्दै वनारस हिन्दू विश्वविद्यालय दुई देशबीचको ऐतिहासिक सम्बन्धको सेतू हो भनेका थिए ।

सोही कार्यक्रममा महात्मा गान्धी विश्वविद्यालयका चान्सलरले नेपालको त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने बताएका थिए । भारतीय जनता पार्टीको आमन्त्रणमा चार दिनअघि भारत भ्रमणमा गएको सो प्रतिनिधिमण्डलमा कांग्रेसका नेता उदय शमशेर राणा र अजय चौरसिया छन् । सो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, भारतीय विदेशमन्त्री एस जयशङ्कर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्