Logo

इलाममा सामुदायिक कृषि क्याम्पस खुल्ने



मङ्गलबारे, २५ असोज: इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ । इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो ।

इलाम नगरपालिका–९ शेरामा निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षाकोठा तयार पार्न लागिएको छ । प्रयोगशाला र पुस्तकालय निर्माण भइरहेको सञ्चालक समितिका सचिव ठाकुरनारायण श्रेष्ठले बताए । कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले सामुदायिक कृषि क्याम्पस स्थापना गर्न लागिएको हो ।

आठ सेमेष्टरको चार वर्षे कोर्ष रु चार लाखमा पूरा गर्न सकिने छ । यो क्याम्पस सञ्चालनमा आएपछि जिल्लाभित्रका मात्र हैन बाहिरी जिल्लाबाट समेत विद्यार्थी आउन अपेक्षा लिइएको छ । पहिलो सेमेष्टरको लागि ४० विद्यार्थी मात्र भर्ना गरिने छ । चार वर्षपछि पूर्णरुपमा क्याम्पस सञ्चालन हुँदा १६० विद्यार्थी हुनेछन् । विज्ञान विषय लिई प्लसटु उत्तीर्ण गरेका विद्यार्थी, आइएससी गरेका, सिटिइभिटीइमा कृषि विषय अध्ययन गरेका विद्यार्थीले सामुदायिक क्याम्पसमा बिएससीएजी पढ्न पाउनेछन् । यसै वर्षदेखि भर्ना अभियान सुरु गरिने छ । अब कक्षा १२ को नतिजा प्रकाशित भएपछि क्याम्पसले भर्ना प्रक्रिया सुरु गरेर काम अगाडि बढाउने छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट यसको सम्बन्धन लिइने जनाइएको छ । त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दशैंपछि सम्बन्धनको प्रक्रिया टुङ्गिने बुझिएको छ । क्याम्पसमा बाली विज्ञान, मत्स्य, पशुविज्ञान र हर्टिकल्चर अध्ययन अध्यापन गराइनेछ । क्याम्पस स्थापना गर्दाको सबै खर्च इलाम नगरपालिकाले बेहोर्ने बताइएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्