Logo

हिन्दुराष्ट्र पक्षधर गजेन्द्र हमालले के के गरे (भिडियोसहित)



काठमाडौं, २५ असोज । तीन दिन मन्त्री बनेर राजीनामा दिएका गजेन्द्र हमाल हिन्दु राष्ट्रका पक्षधर हुन् । उनले मन्त्रीबाट राजीनामा दिएपछि आफै हिन्दु राष्ट्रको पक्षधर भएको स्पष्ट पारेका हुन् ।

‘म हिन्दु राष्ट्र हुनुपर्ने पक्षको हुँ,’ हमालले प्राइम टाइम्स टेलिभिजनमा जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग हमालले भने, ‘हिन्दु राष्ट्र फर्काउन अभियान नै चलाएको छु ।’

आफूले ५ हजार साधु सन्तलाई निम्तो गरेर हिन्दु राष्ट्र फर्कानुपर्छ भन्ने निर्णय गराएको बताए । आफूले विश्व वैदिक सनातन धर्म सभा गरेको खुलाए । आफूलाई कतिपयले राप्रपा भयो सम्म भनेको उल्लेख गर्दै भने, ‘हामी हिन्दु हौं ।’ आफू धर्म र संस्कृतिको पक्षधर भएको बताए ।

तर, राजसंस्था फर्काउने पक्षमा नभएको स्पष्ट पारे । उनले भने,‘ राजाको जन्मदिनमा हात्तीमा तस्बिर राखेको बेलामा हात्ती रोकेर फोटो च्यातेर फालेको थिएँ । मलाई गोली हानेर मार्ने आदेश थियो ।’
उनले आफू २०५२ सालमा बाँके जिल्ला सभापति भएको स्मरण समेत गराए । आफ्नो परिवारले जग्गा बेचेर भएपनि राजनीति गरेको सुनाए ।

आफू धार्मिक व्यक्ति भएको स्पष्ट पार्दै हरेक विहान २ घन्टा पूजा गर्ने गरेको खुलाए । पूजा गरिरहँदा अकस्मात् राजीनामा दिमागमा आएको सुनाए । उनले भने, मेरो आत्माले नैतिकता देखाउनुपर्छ भन्यो, ‘मैंले राजीनामा दिएँ ।’ आफूले राजनीतिमा नैतिकता देखाएको बताए ।



प्रतिक्रिया दिनुहोस्