Logo

भारत र चीनबीच यसकारण युद्धको खतरा



एजेन्सी, २५ असोज । सीमा विवाद अन्त गर्ने विषयमा भारत र चीनबीचको वार्ता असफल मात्र भएन दुई पक्षले एक अर्कालाई दोष लगाए । भारतले चीन सहमतिमा नआएको र भविष्यमा ठोस प्रस्ताव नल्याउने देखिएको जनायो । चीनले भारतमाथि त्यस्तै आरोप लगाएर चेतावनी दिएको छ । यसले दुई देशबीच युद्धको खतरा बढेको छ ।

ग्लोबल टाइम्सले चिनियाँ जनसेनाको पश्चिमी कमाण्डको भनाई उदृत गर्दै भारतले यथार्थ विपरितको माग राखेको आरोप लगाएको छ । यसलाई नयाँ द्वन्द्वको खतरा भनेको छ । चीनले भारतको सम्भावित सैन्य आक्रमणको सामनाका लागि तयार हुनुपर्ने उल्लेख छ ।

आइतबार १३औं चरणको सैन्य तहको वार्तामा दुवैबीच सहमति हुन सकेन । अब सहमतिका लागि हुने वार्ता समेत अनिश्चित भएको छ । यसले दुवै देशबीच फेरि युद्धको खतरा बढेको छ ।

सन् २०२० को मे यता भारत र चीनबीच तनाव बढेको छ । गलवान उपत्यकामा सन् २०२० को जून महिनामा २४ जना सैनिक मारिने गरी झडप भएको थियो । भारतीय पक्षको २० र चिनियाँ पक्षको ४ को मृत्यु भएको उल्लेख छ ।

भारतीय पक्षले सोमबार विज्ञप्ति जारी गर्दै वार्ताले रचनात्मक सुझाव दिएपछि चिनियाँ पक्ष सहमतिमा नआएको जनाएको छ ।

चिनियाँ पक्षले विज्ञप्ति जारी गर्दै चीन आफ्नो सार्वभौम रक्षा गर्न सक्षम रहेको र भारतले परिस्थितिको अवमूल्यन नगर्ने भन्दै चेतावनी दिएको छ ।

आइतबार दुवै देशका सैनिक कमाण्डर तहमा लद्दाख क्षेत्रको मोल्डो भन्ने चिनियाँ क्षेत्रमा वार्ता गरेका थिए । तर, सहमति बन्न नसकेपछि युद्धको कालो बादल मडारिएको छ ।

भारत र चीनले अत्याधुनिक हतियारसहित दशौं हजार सैनिक सीमामा तैनाथ गरेका छन् । उक्त क्षेत्रमा थप तनावको सम्भावना देखिएको छ ।

भारत र चीनबीचको द्वन्द्वको असर दक्षिण एशियामा देखिनथालेको छ । अफगानिस्तानमा अमेरिका र भारतको प्रभाव गुम्नु यसको परिणाम हो । तर, दक्षिण एशियाको अन्य देशहरुमा अमेरिका र भारतको प्रभाव बढ्दै गएको छ । यो चीनका सामु चुनौती हो । यी घटना विकास हुँदै जाँदा भारत र चीनबीच कुनैपनि बेला सीमा क्षेत्रमा झडपका अलावा युद्धको खतरा पनि बढेको छ ।



प्रतिक्रिया दिनुहोस्