Logo

चुनाव अघि नै कम्युनिस्ट मिलाउन चीन लाग्यो



काठमाडौं, २६ असोज । चीन नेपालका कम्युनिस्ट पार्टीहरुलाई मिलाउन फेरि सक्रिय भएको छ । उसले अबको आम निर्वाचन अघि नै कम्युनिस्ट पार्टीहरुलाई मिलाउने सक्रियता देखाएको हो ।

चिनियाँ राजदूत होउ यान्छी स्वयं कम्युनिस्ट पार्टीहरुलाई भरसक एक बनाउने नभए चुनावमा गठबन्धन बनाउने अवस्था तयार गर्न लागेकी हुन् । उनले नेपाल डाइलग फोरमको भर्चुअल कार्यक्रममा कम्युनिस्ट पार्टीहरुलाई मिलेर अगाडि बढ्न भनिन् । आइतबार भएको कार्यक्रममा उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम नै लिएर चीनले उनीहरु मिलेर बढुन् भन्ने चाहेको खुलाइन् ।

यान्छीले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिल्न सुझाव समेत दिइन् । उनले दुवै नेताहरुको नाम लिइन् ।

नेपाल कम्युनिस्ट पार्टी विभाजित भई एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । नेकपा हुँदा ओली र प्रचण्डको विवाद मिलाउन यान्छी सक्रिय भएकी थिइन् । उनले निवासमै पुगेर नेताहरुलाई पटक पटक भेटेपनि कुरा मिलाउन सकिनन् । फलस्वरुव नेकपा विभाजित भयो । त्यसपछि नेकपा एमाले पनि विभाजित भएको छ ।

एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि चीनको सक्रियता नेपालमा झन् बढेको थियो । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच संयुक्त प्रशिक्षण समेत भयो । कुनै अर्को देशको दलसँग नेपालको कुनै दलले संयुक्त प्रशिक्षण राखेको यो पहिलो घटना थियो ।

कम्युनिस्ट विचारबाट चलेको चीनले नेपालका कम्युनिस्ट पार्टीहरुलाई बढी भरोसा गर्दै आएको छ । उसले आगामी चुनावमा फुटेका कम्युनिस्टहरुको नतिजा कमजोर हुने आँकलनका आधारमा भरसक एक बनाउने नसके गठबन्धन भएपनि बनाउने पहल गर्दै आएको छ । त्यसका लागि चिनियाँ टोली विभिन्न माध्यमले सक्रिय छन् ।

विगतमा एमाले र माओवादी केन्द्र मिलेर आमनिर्वाचन लड्दा बहुमत हासिल गरेका थिए । दुवैको गठबन्धनले परिणाम ल्याएकोले चीन फेरि त्यही अवस्था दोहोराउन लागेको छ ।

चीन कम्युनिस्ट मिलाउन सक्रिय भएपनि त्यो सजिलो छैन । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पानी बाराबारको स्थिति छ । दुवै नेता एकै मञ्चमा समेत देखिएका छैनन् । उनीहरु एक अर्कालाई चुनावमा सून्यको स्थितिमा पुर्याउने गरी लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्