Logo

परराष्ट्रनीति असन्तुलित भई राष्ट्रिय सुरक्षामा चुनौतीः पूर्व राजा शाह



काठमाडौं, २६ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुप्रति आक्रोश पोखेका छन् । उनले दलका नेताहरुले राजनीतिक व्यवस्था आफू आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झाएको भन्दै आलोचना गरे ।

‘राजनीतिक व्यवस्था आफू आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्भिएको छ,’ दशैंको अवसरमा भिडियो सन्देशमार्फत् पूर्व राजा शाहले प्रश्न गरे, ‘आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूती गर्न पाइरहेका छन् त ?’

उनले सिमित व्यक्तिलाई फाइदा पुर्याउने गतिविधि बढेको भन्दै न्यायिक क्षेत्रमा विचलन आएको टिप्पणी गरे । उनले भने,‘न्यायिक क्षेत्रमा उत्पन्न विचलनले निराशाको बादल छाएको छ ।’

मौलिक धर्म संस्कृति संकटमा पार्ने गतिविधि भएको टिप्पणी गर्दै शाहले परराष्ट्रनीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएको बताए । उनले भने,‘मौलिक धर्म संस्कृति संकट पार्ने राष्ट्रहितमा केन्द्रित पार्नुपर्ने परराष्ट्रनीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकाले हाम्रो मन पोलेको छ ।’

पूर्व राजाले राजसंस्थाविनाको प्रजातन्त्र र प्रजातन्त्रविनाको राजसंस्था नेपालमा सान्दर्भिक नहुने टिप्पणी गरे । उनले भने,‘ प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आबोध हामीले गरेका छौं ।’



प्रतिक्रिया दिनुहोस्