Logo

इतिहास रच्न बँगलादेशसँग नेपालको फुटबल भिडन्त



काठमाडौं, २७ असोज। बँगलादेशसँगको बराबरीले मात्र पनि नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्नेछ । यो नेपालका लागि इतिहास रच्ने अवसर पनि हो । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छैन ।

राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ४ः ४५ बजे सुरु हुनेछ ।
नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

‘टिमको तयारीको बारेमा भन्नुपर्दा हामीले सम्पूर्ण तयारी गरिसकेका छौँ र बंगलादेशसँग खेल्न तयार छौँ,’ प्रशिक्षक श्रेष्ठले भनेका छन्, ‘हाम्रो टोलीले उच्च मनोबलका साथ खेल्नेछ र फाईनल प्रवेशका लागि राम्रो नतिजा निकाल्नेछौ ।’

राउण्ड रोबिन लिगको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । यस्तोमा नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता रहेको छ ।

नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलंकालाई ३९२ ले हराएको थियो । तर, नेपाल आइतबार भारतसँग १–० ले पराजित भएको थियो ।

नेपाल बंगलादेशलाई हराउने योजनासहित मैदान उत्रनेछ । बंगलादेश पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । दुवै टोलीका लागि डु अर डाइको अवस्था छ ।

यस समूहमा माल्दिभ्स ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । नेपालसँग पराजित माल्दिभ्स हेड टु हेडमा पछि रहेको हो । भारत ३ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

बुधबार नै भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । फाइनलका लागि माल्दिभ्सलाई बराबरीले पुग्नेछ । भारतलाई भने जितको बिकल्प छैन ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट श्रीलंका भने बाहिरिसकेको छ । श्रीलंकाले ४ खेलमा १ अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्