Logo

के राजसंस्था फर्किएला ?



समाचार विश्लेषण । यस वर्षको दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाको सान्दर्भिकतबारे उल्लेख गरेका छन् । नेपालका अन्तिम राजा शाहले राजसंस्था फर्काउने कुरा गर्नु स्वाभाविक हो । तर, उनको यसपटककको दशैंको शुभकामनामा राजसंस्थाविनाको प्रजातन्त्र र प्रजातन्त्रविनाको राजसंस्था नेपालमा सान्दर्भिक नहुने टिप्पणी गर्नु अर्थपूर्ण छ ।

पूर्वराजा शाहले मौलिक धर्म संस्कृति संकट पार्ने र राष्ट्रहितमा केन्द्रित पार्नुपर्ने परराष्ट्रनीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएको टिप्पणी गरेका छन् । उनको अभिव्यक्तिमा सनातन हिन्दु धर्मको विषय र छिमेकी मुलुकहरुसँगको सम्बन्धको विषय इंकित छ । यसबाट उनले राजसंस्था रहँदा छिमेकीहरुसँगको सम्बन्ध पनि सन्तुलित हुने सन्देश दिन खोजेका छन् । हिन्दु राष्ट्रको विषयमा बहस भइरहँदा उनको त्यसमा पनि चाहना देखिएको छ ।

देशमा गणतन्त्र, धर्मनीरपेक्षता र संघीयताको अभ्यास भइरहँदा यसप्रति विस्तारै वितृष्णा जाग्ने गतिविधिहरु भइरहेका छन् । राजसंस्था नहुँदा राजनीतिक दलहरुले मनोमानी गर्न थालेको, संविधानमाथि प्रहार गर्ने गतिविधिहरु भइरहेको बहस चलिरहेको छ । दलहरुबीच निकै ठूलो राजनीतिक टकराव छ । यसले राजनीतिक अस्थिरतालाई बढावा दिने खतरा छ । यसकारण पनि जनतामा नैराश्यता उत्पन्न भई पुरानै व्यवस्थाप्रति मोह जाग्ने वातावरण विकास हुँदैछ ।

धर्मनीरपेक्षताको अभ्यासका क्रममा सनातन हिन्दु धर्ममाथि आक्रमण भइरहेको भन्दै उक्त धर्मसम्वद्ध संस्थाहरु एकजुट हुन थालेका छन् । हिन्दु धर्मालम्बी बहुसंख्यक जनता यसप्रति सचेत हुन थालेका छन् । आफ्नो धर्मसंस्कृतिप्रति आस्था बढ्दै गएको छ । दशैं जस्तो चाडमा पनि तेरो र मेरो भन्ने सोच बनाएर द्वन्द्व निम्त्याउन खोजिएको छ । अरुको संस्कृति र चाडपर्वप्रति नकारात्मक धारणा बढाउने योजनावद्ध कार्यशैलीका कारण हिन्दुहरु एकजुट हुन थालेका छन् । हिन्दुराष्ट्रको मुद्दा बलियो बन्दै गएको छ । यसले कतै राजसंस्था फर्काउने योजनालाई साथ त दिदैन भन्ने चासो बढेको छ ।
एकात्मक राज्यप्रणालीबाट संघीयतामा जाँदा जनता करको मारमा परेका छन् । प्रदेशहरुमा राजनीतिक खिचातानी बढेको छ । सरकार बनाउने ढाल्ने खेलहरु बढेको छ । यसले संघीयताप्रति पनि नैराश्यता बढ्न थालेको छ । यसले पनि पुरानै व्यवस्था फर्काउनेहरुलाई बल पुगिरहेको छ ।

यी घटनाक्रम हेर्दा राजसंस्था फर्काउनेहरुका लागि फेरि शक्ति सञ्चयको वातावरण विकास हुँदैछ । पूर्व राजा या राजसंस्था फर्काउने पक्षधरले भन्दा गणतन्त्र पक्षधरकै गतिविधिले माहोल तयार गर्दैछ । तर, राजसंस्था फर्काउन सजिलो छैन । यसका लागि कुनै ठूलो क्रान्ति भई जनताको मतबाट अनुमोदित हुनुपर्छ कि त संविधान अनुसार दुई तिहाईको मतबाट सम्भव हुनसक्छ । मुख्य राजनीतिक दलहरु गणतन्त्रको पक्षमा रहेकाले राजसंस्थाको सम्भावना लगभग छैन । तर, राजनीति सम्भावनाको खेल हो । कुनैपनि बेला सत्ता पल्टन र व्यवस्था उल्टन सक्छ ।

विगतमा तत्कालीन राजा ज्ञानेन्द्रको सत्ता हातमा लिने र निरंकुश तरिकाले संविधान उल्लंघन गरी कठोर कदम चाल्ने कार्यशैलीले गणतन्त्रको ढोका खोलेको थियो । गणतन्त्र आउनुमा मुख्य योगदानकर्ता नै ज्ञानेन्द्र शाह थिए । ठिक त्यसै गरी अहिलेका राजनीतिक दलका नेताहरु पनि सत्तामा पुग्यो कि निरंकुश बन्दै जाने र संविधानमाथि प्रहार गर्ने गतिविधि गर्न थालेका छन् । त्यसले हद नाघेमा अर्को विद्रोह भई व्यवस्था परिवर्तन हुनसक्छ । जसरी गणतन्त्र ल्याउनुको कारण पूर्व राजा ज्ञानेन्द्र शाह र राजावादीहरु भए ठिक त्यसैगरी गणतन्त्र समाप्त भई राजसंस्था स्थापनाको कारण अहिलेका मुख्य राजनीतिक दलका नेता र गणतन्त्रवादीहरु नै हुनसक्छन् ।



प्रतिक्रिया दिनुहोस्