Logo

साना कृषि औजारको बढ्दो प्रयोगः किसानलाई सहज



दमक, ३० असोज । जनशक्ति, लागत र समय समेत कम लाग्ने भएपछि पछिल्लो समय झापामा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ ।

मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसान आत्मनिर्भर हुन थालेका छन् । “पहिले पहिले परम्परागत तरिकाले खेती गथ्र्यांै, त्यसले जनशक्ति र लागत बढी लागेपनि उत्पादन कम हुन्थ्यो”, दमक–१० का किसान यादवकुमार न्यौपानेले भन्नुभयो, “अहिले साना कृषि औजारको प्रयोगले खेती गर्दैछौं । यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ ।” साना कृषि औजारको प्रयोगमा वृद्धि भएसँगै कृषि कर्म पनि सहज हँुदै गएको उहाँको भनाइ छ ।

थोरै लगानी गरेर यस्ता उपकरणको प्रयोग गर्न सहज भएपछि कृषि कार्यमा साना कृषि औजारको आकर्षण बढ्दै गएको बताउँदै उहाँले विगत तीन वर्षयता सानो हाते ट्र्याक्टर (पावर टिलर)को माध्यमले धान काट्दै आएको जानकारी दिनुभयो । तीन वर्षअघि रु दुई लाख खर्चिएर खरिद गरेको धान काट्ने औजारले कृषि कार्यको दैनिकीलाई निकै सहज गरिदिएको उहाँको भनाए छ । उहाँले भन्नुभयो, “कृषि औजारको प्रयोगले अहिले आफ्नो मात्र नभएर व्यावसायिक रुपमा छिमेकीका धेरै किसानलाई पनि धान काट्न सहज बनाइदिएको छ ।” उहाँका अनुुसार मिलेका खेतका गह्रामा यो औजारको प्रयोग गरेर एक घण्टामा कम्तीमा पनि पाँच कट्ठासम्म धान काट्न सकिनेछ । धान काट्न लगायतका कृषि कर्ममा चाहिने जनशक्ति अभाव भइरहेको बेला यस्ता उपकरणले कृषि कर्ममा नै ठूलो सहयोग पुगेको उहाँको भनाइ छ ।

कृषि मजदुरको अभावमा कृषि कार्य गर्न निकै सकस झेल्दै आएका किसानका लागि अहिले यस्ता कृषि औजारले निकै राहत मिलेको दमक–१० का अर्का किसान रमेशकुमार न्यौपानेले बताउनुभयो । साना कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषि मजदुरको विकल्प बन्दै गएको र यसले कृषि कार्यमा धेरै राहत प्रदान गरेको उहाँको बुझाइ छ ।

न्यौपानेले यो वर्ष करिब चार बिघा जमिनमा मङ्सिरे धानको खेती गर्नुभएको र तर चाडबाडकै मुखमा आएर खेतमा धान पाकेपछि कृषि मजदुरको अभावमा धान कसरी काट्ने भन्ने चिन्तालाई साना कृषि औजारले पूरा गरिदिएको उहाँको बुझाइ छ । पछिल्ला वर्ष किसान स्वयम् यस्ता कृषि उपकरणको प्रयोगमा आकर्षित हुँदै गएका छन् भने सरकारी निकायले समेत कृषि उपकरणको प्रयोगमा प्रोत्साहन गरिआएका कारण पनि अहिले कृषि कर्ममा यस्ता उपकरणको प्रयोग ह्वात्तै बढ्दै गएको दमक–१० का वडाध्यक्ष बोधराज न्यौपानेले बताउनुभयो । किसानले विशेषगरी जमिन जोत्न, धान रोप्न, काट्नलगायत काममा यस्ता कृषि औजारको प्रयोगलाई महत्व दिँदै आएका छन् ।

साना कृषि औजारको प्रयोगले कृषि क्षेत्रमा केही सहजता ल्याइदिएको भए पनि सरकारको झन्झटिलो कृषि नीतिका कारण यस्ता कृषि औजारको खरिद तथा प्रयोगमा केही जटिलता रहेको विगत लामो समयदेखि ट्र्याक्टरको प्रयोगबाट खेती किसानी गर्दै आएका सोही वडाका अगुवा किसान कुवेर न्यौपानेको गुनासो छ । कृषि क्षेत्रमा कृषि औजारको प्रयोगले कृषि कर्ममा सहजता ल्याइदिएको भए पनि औजारमा प्रयोग हुने इन्धन तथा पाटपूर्जा खरिदमा निकै महँगो मूल्य तिर्नुपर्ने बाध्यताका कारण किसानका लागि यन्त्रको प्रयोग पनि निकै महँगो हुँदै गएको उहाँको भनाइ छ ।

“धान, गहुँ लगायतका बाली भित्राउँदा विगतमा जनशक्ति परिचालन गरी बाली भित्याउनुपथ्र्यो । चुट्न गोरुको सहायताले दाइँ हाल्नु पर्ने हुन्थ्यो खेतबाट खलियानमा ल्याउन र खलियानमा ल्याएको बाली घरमा भित्राउनका लागि एक महिना कुर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “खेतमै पावरटिलर, ट्रयाक्टरमा ट्राली जोडेर खलियानसम्म बाली ल्याउन सजिलो भएको छ ।” यन्त्रमा रिपर जडान गरेर धान गहँु दाउन थ्रेसरको सहायताले छिटो काम हुन थालेको उहाँको भनाइ छ ।

“विगतका समयमा कृषि कार्य गर्दा खेतलाको सहयोग लिदा धेरै खर्च हुन्थ्यो, अहिले कम खर्चमा काम हुने गरेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समयमा खेतला पनि नपाइने भएकाले यन्त्रको प्रयोग गरेर खेती गर्दा कम लागतमा कृषिको उत्पादन लिन सकिने भएको छ ।” राज्यले कृषि कर्ममा व्यावसायिकतर्फ प्रोत्साहन दिने हो भने किसान लक्षित दीर्घकालीन टेवा पुग्ने नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा उहाँको जोड छ । (रासस )



प्रतिक्रिया दिनुहोस्