Logo

किसानलाई धान काट्न भ्याइनभ्याई



डोटी, ३० असोज । दसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई भएको छ ।

यहाँका खेतबारीमा किसानहरु धमाधम धान काट्नमै व्यस्त हुने गरेका देखिन्छन् । खेतमा लटरम्म धान पाकेका कारण वर्षा र पानी परे धान झार्ने डरले किसानलाई उक्त धान बटुल्न चटारो सुरु भएको छ । धान धत्पादनको दृष्टिकोणले पकेट क्षेत्रका रुपमा चिनिँदै आएका यहाँका बनिडुग्रिसैन, दिपायल, पिपल्ला, जोरायल, गड्सेरा, बर्छैन, सायल, पूर्वीचौकी लगायतका ठाउँहरुमा किसानहरु अहिले धान काट्ने चटारोमा व्यस्त भएका हुन् ।

यो वर्ष समयमै बर्सात भएका कारण जिल्लामा प्रायः सबै ठाउँमा समयमै धान रोपाइँ सम्पन्न भएको थियो । कृषि ज्ञान केन्द्र सिलगढीका अनुसार जिल्लामा यो वर्ष धान उत्पादनमा निकै वृद्धि हुने अनुमान गरिएको छ । किसानहरु समयमै धान काट्न सजिलो होस् भन्दै अहिले खेतमै खाना पकाएर खाने तथा दिनभरि धान काट्ने गरेका जोरायल गाउँपालिका–४ की स्थानीयवासी तक्ष्मीकुमारी ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै धान पाकेको छ, पानी पर्ला र धान बिग्रेला भन्ने डरले हामी खेतमै खाना पकाएर खाने र दिनभरि धान काट्ने गरेका छौँ ।”

दसैँ मनाउनका लागि घरमा आएकाहरु पनि खेतमा धान काट्न सहयोग गर्न थालेपछि यहाँका किसानलाई धान काट्न निकै सहज भएको स्थानीयवासी बताउँछन् । अहिले वृद्धवृद्धादेखि युवा समूह धान काट्नमा निकै सक्रिय भएका दिपायल सिलगढी नगरपालिका–३ का स्थानीयवासी भरत द्वारियाले बताउनुभयो । उहाँले भन्नुभयो, “कामका लागि जिल्लाबाहिर गएकाहरु सबै घरमा आएका छन्, उनीहरु धान काट्नमा सहयोग गर्न थालेपछि रमाइलो भएको छ ।” यहाँका प्रायः सबै क्षेत्रमा धान काट्ने चटारोमा युवायुवती बढी सक्रिय भएका देख्न सकिन्छ । विगतमा यहाँ धान काट्ने खेताला नपाउने गरेका कारण समस्या हुने गरेको भए पनि अहिले युवायुवती धान काट्नमा सक्रिय भएका कारण निकै सहज भएको बताइएको छ ।

युवायुवतीले धान काट्ने काम गर्ने तथा अन्य किसान धान झार्ने काम गर्ने गरेको बडिकेदार गाउँपालिका–१ का स्थानीयवासी रोजबहादुर कलेलले जानकारी दिनुभयो । उहाँका अनुसार सडक सुविधा पुगेका यहाँका कतिपय गाउँमा भने धान झार्न यो वर्षदेखि आधुनिक थ्रेसर प्रयोग गर्न थालिएको छ । दसँैको रमझम सकेर यहाँका किसान अहिले खेतबारीमा धान काट्न तथा धान झार्न सक्रिय भएपछि अहिले सहर बजारभन्दा पनि गाउँघरहरु निकै रमाइला भएको शिखर नगरपालिका–१० का स्थानीयवासी डिबी धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा भएकाहरु सबै खेतबारीमा धान काट्न भेटिन्छन्, घरमा सुनसान हुन्छ, खेतबारीमा भने निकै रमाइलो हुने गरेको छ ।” कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा हालसम्म १० प्रतिशत मात्रै धान काट्ने काम सकिएकोे छ । छिटो रोपाइँ गरेको र छिटो पाक्ने धान लगाएकामा धान काट्ने काम भइरहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नरेन्द्र पनेरुले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा कात्तिक अन्तिमसम्ममा सबै ठाउँमा किसानहरुले धान भित्र्याइसकेका हुन्छन् । जिल्लामा जोरायले बासमतीसँगै यहाँका किसानले मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पालपालि धान लगाउँदै आएका छन् । यस वर्ष जिल्लाका धेरै स्थानमा सिँचाइ पहुँच, समयमै पानी पर्नु, मल समयमै उपलब्ध हुनु, रोगव्याधी कम लागेका कारण उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख पनेरुले दाबी गर्नुभयो ।

जिल्लामा २७ हजार तीन सय हेक्टर क्षेत्रफलमा यस वर्ष धानखेती भएको बताइएको छ । जिल्लाको पूर्वी क्षेत्रमा असोजको दोस्रो हप्तादेखि नै धानहरु काटेर तरकारी खेती सुरु भइसकेको छ । यहाँका किसान समयमै पाकेको धान काटेर व्यवसायिक तरकारीहरु उत्पादन गर्ने गर्दछन् । हिउँदे तरकारीअन्तर्गत काउली, बन्दा, टमाटर, भेडे खुर्सानी, आदि लगाउन कृषकहरुले सुरु गरेको केआईसिंह गाउँपालिका–३ का शेरबहादुर ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदे खाद्यान्न बालीअन्तर्गत भने यहाँका कृषकहरुले गहुँ, मुसुरो, आलु, राजमा लगाउने गर्दछन् । (रासस)



प्रतिक्रिया दिनुहोस्