Logo

संस्थापन इतर पक्षका थुप्रै नेताहरू अन्तिम अवस्थामा देउवासँगै आउनेछन्ः मोहन बस्नेत



काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसको नेता मोहनबहादुर बस्नेतले शेरबहादुर देउवा पार्टीमा उपलब्ध भएमध्येको बलियो,लचिलो र स्वीकार्य नेता भएको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “शेरबहादुर देउवा नभएको भए कांग्रेस अरु नेतालाई सरकारको नेतृत्व गरिदिनोस् भन्ने अवस्था आउँथ्यो कि आउँदैनथ्यो ? देउवाबाहेक अरू नेतालाई बोलाई बोलाई घरमै गएर प्रधानमन्त्री भइदेऊ भन्ने स्थिति थियो कि थिएन ?”

बस्नेतले भने, “कांग्रेसमा कहिल्यै चुनाव नहार्ने नेता भनेको देउवा र विजय गच्छदार मात्र हो । पाँच पटक प्रधानमन्त्री भएको पनि देउवा मात्र हो । आज देउवाको हैसियत जनआन्दोलनताकाको गणेशमान सिंहको जस्तो छ । सबैलाई मिलाएर लाने र अरुको अस्तित्व स्वीकारेर सरकार चलाउने क्षमता पनि उहाँमै छ । कसैले माने पनि नमाने पनि उहाँ सिंगो मुलुकको टावरिङ र कम्प्रोमाइजिङ नेता हो । उहाँलाई फेरि एकफेर पार्टी सभापति बनाए मात्र चुनावमा कांग्रेसको बहुमत आउँछ ।”

जति धेरै उम्मेदवार भयो, ठूला नेतालाई त्यति बढी फाइदा हुने उनले बताए । उनले भने, “विमलेन्द्र निधि उपसभापति भइसकेको नेता भएकाले सभापतिमा दाबी स्वाभाविक हो । तर संस्थापनमा देउवाको विकल्प छैन । निधि बाहिर गए पनि कृष्ण सिटौलाले समर्थन गर्न सक्ने अवस्था छ । सिटौलाजीले हिजो पनि सहयोग गर्नुभएकै हो । संस्थापन इतर पक्षका थुप्रै नेताहरु अन्तिम अवस्थामा देउवासँगै आउनेछन् ।”

चौधौं महाधिवेशनमा देउवा भर्सेज पौडल हुने अवस्था नरहेको पनि उनले बताए । उनले थपे, “संस्थापन इतर पक्षमा एउटा मात्र उम्मेदवारी दिन सक्ने अवस्था छैन । इतर पक्षमा रामचन्द्र पौडेललाई सहमतिको उम्मेद्वार बनाउने देखिँदैन । अघिल्लो महाधिवेशनमा पौडेलले महामन्त्रीमा प्रकाशमानलाई उम्मेदवार बनाउन खोज्नुभएको थियो । तर यसपालि प्रकाशमान रामचन्द्रको दाइको काम छैन भनिरहनुभएको छ । अब रामचन्द्रलाई सहयोग गर्ने को ?”

बस्नेतले थपे, “संस्थापन इतर समूहले वडा अधिवेशनदेखि नै साझा उम्मेद्वार बनाउने भन्दाभन्दै तीन वटा उम्मेवार हुने देखिँदै छ । कोइराला परिवारको एक जना, प्रकाशमान सिंह पछि मात्र पौडेलको उम्मेदवारी आउँछ । यस हिसाबले उहाँ तेस्रो उम्मेद्वार हो । तीनमध्ये एकले अर्कालाई छाड्ने स्थिति छैन । त्यसैले संस्थापन पक्षको उम्मेदवार देउवा नै बलियो हुनहुन्छ ।”

नेता बस्नेतले यसपालि कांग्रेस महाधिवेशनमा युवा पुस्ताले नेतृत्व गर्न नसक्ने ठोकुवा गरे । उनले भने, “युवा भनेका पनि पद नपाउन्जेल ठूला कुरा गर्ने मात्र देख्छु । तलबाट आएको युवापंक्तिले अर्को पटकको महाधिवेशनमा पार्टीको नेतृत्व गर्न सम्भव छ, यसपालि होइन ।” उनले मंसिर ९ गते चौधौं महाधिवेशन हुने स्थिति नरहेको पनि बताए । उनले भने, “अझै पनि कतिपय जिल्लामा वडा अधिवेशन हुनै बाँकी छ । सिन्धुपाल्चोकमा तीन वटा वडामा अधिवेशन हुन सकेको छैन । मतदान अधिकृत भारतमा उपचार गर्न गएको भन्दै काठमाडौंमा लुकाएर राखिएको छ । चुनाव हार्ने निश्चित भएपछि जानाजान लफडा गरिएको छ । फटाफटा काम भए मात्र मंसिरभित्रै गर्न सकिने स्थिति छ ।”

कांग्रेसको पालामा तातोपानी नाका व्यवस्थित गरेर चलाए पनि कम्युनिस्टको पालामा बन्द हुने अवस्था आएको आरोप पनि उनले लगाए । उनले भने, “२०७२ को भूकम्पपछि नाका लगभग बन्द छ । कम्युनिस्टका उम्मेद्वारले आफूले जिते एक महिनाभित्र नाका खुलाउँछु भनेका थिए । तर सकेनन् । दिनमा आठ वटा कन्टेनरभन्दा आएनन् । मैले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेर समस्या राखेपछि उहाँले चिनियाँ राजदूत कुरा गर्नुभयो । त्यसपछि दिनमा ३० वटासम्म कन्टेनर आउन थालेको छ ।”

तातोपानी नाकाको बाटो कमजोर भएकाले धेरै गाडी छाड्न नसकेको चिनियाँ पक्षको भनाइ रहेको उनले बताए । उनले भने, “ओलीको सरकारले चीनसँग कूटनीतिक कुराकानी गर्न सकेन र नेपालीले खरिद गरेका सामान अलपत्र परे, साना व्यापारीले झिटीगुन्टाको सुविधा पाएनन् । नागरिकले सस्तोमा सामान पाउन सकेनन् ।”



प्रतिक्रिया दिनुहोस्