Logo

खेलकुदमन्त्री महेश्वर जंग गहतराजको घोषणा : केही दिनमै समग्र खेल क्षेत्रको विकासको लागि नयाँ भीजन सार्वजनिक गर्छु (भिडिओसहित)



‘साफमा नेपालको प्रदर्शनबाट म निराश छैन’
काठमाडौं, ३१ असोज । युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज (अथक) ले केही दिनभित्रै समग्र खेल क्षेत्रको विकासको लागि नयाँ सोच र भीजन सार्वजनिक गर्ने बताएका छन् ।  आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले नवनियुक्त मन्त्री गहतराजलाई सम्मान तथा बधाई र सफल कार्यकालको शुभकामना दिन आयोजित अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने–‘मैले क्लबका सभापति ऋषिजी र उहाँको संस्थाबाट कार्यकाल सफलताको बधाई पाएँ । म तीन दिनमात्रै भयो मन्त्रालयमा उपस्थित् भएको, अहिले नै भनिहाल्ने केही छैन् । मैले परीणाम निस्किने सोच बनाएको छु । म भाषण र गफमा विश्वास गर्दिन् । म कर्मको कारणले नै यो जिम्मेवारीमा आएको छु । सबैको सद्भाव र सकारात्मक सुझाव लिएर युवा क्षेत्रमा जे/जस्तो अवस्था छ, देशमै रहने कुरामा, निराशा र उदासिनता पैदा भएको छ । युवाहरुलाई देशमै केही गर्ने आशा जगाउँछौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले खेल क्षेत्रमा पनि पछिल्ला केही वर्षयता अपेक्षित सफलता हाँसिल हुन नसकेको पनि सुनाए । उनले भने,‘नर्सरीदेखि नै खेल क्षेत्रलाई कसरी विकास गर्ने भन्ने कुरामा केही सोच बनाएको छु । केही समयपछि यी सोचहरुलाई उपयुक्त समयमा, जब काम गर्ने आधार तयार गरिएपछि भीजन र सोच सार्वजनिक गर्छु । अहिले आधार तयार गर्न लागिरहेको छु ।’

उनले आफू मन्त्री हुनुभन्दा अघि नै नेपाली फुटबल टिम माल्दिभ्स गएको स्मरण गराउँदै टिमलार्य हौसला प्रदान गर्ने काम भने निरन्तर फोनमार्फत गरेको सुनाए । उनले भने,‘मैले टिमलार्य निरन्तर फोन गरेको छु । गोरखा स्पिरिटमा खेल्न भनेको थिएँ । हाम्रा खेलाडीले देखाएको प्रदर्शनबाट म निराशा छैन् । खेल क्षेत्रमा अझै लगानी गर्ने हो भने यो भन्दा धेरै सफलता प्राप्त गरिन्छ । यही साफको कुरा गर्दापनि धेरै देशलाई पछि पार्दै नेपालले भारतसँग फाईनल खेलेको हो । अहिले सबै निराश हुनुपर्ने अवस्था छैन् । नेपालीहरुको अपेक्षा जितेर आओस भन्ने थियो । भोलिमात्रै हाम्रो टिम स्वदेश फर्किन्छ । राम्रो परीणाम आओस भन्ने हाम्रो कामना थियो । नजितेकोमा म निराशा छैन् ।’ उनले हिजोको फाईनल खेलमा नेपालले भारतलाई लामो अवधिसम्म गोल गर्न नदिएको र खेलमा राम्रो प्रदर्शन देखाएको सुनाए ।

उनले साफको फाईनलमा भारतसँग नेपालको हारको कारण टिम आएपछिमात्रै थाहा हुने पनि सुनाए । उनले अहिले आफूले धेरै कुरा जानकारी नलिएको पनि स्पष्ट पारे । यसबारेमा एन्फाका पदाधिकारीसँग पनि छलफल हुने उनको भनाई छ ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले मन्त्री गहतराजलाई अभिनन्दन गरेका थिए । खेल क्षेत्रको विकासकोलागि बनाएको सोच र योजना लागु गर्न आफू र क्लबको तर्फबाट सधैं साथ रहने पनि धमलाले विश्वास दिलाएका थिए ।



प्रतिक्रिया दिनुहोस्