Logo

रौता र चौदण्डीमा पर्यटकको सङ्ख्या ह्वातै बढ्यो



उदयपुर, ३१ असोज । उदयपुरको धार्मिक, ऐतिहासिक तथा महत्वपूर्ण पर्यटकीय क्षेत्र रौता पोखरी र चौदण्डी गढीमा घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

जिल्लाको मध्य पहाडी क्षेत्रको रौता गाउँपालिकाको रौता क्षेत्रमा बिहीबारदेखि नै घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यो क्षेत्रमा अहिले आन्तरिक पर्यटकको भिडभाड हुने गरेको (होमस्टे) घरबास सञ्चालक दुर्गा मगरले बताउनुभयो ।

बिहीबारदेखि शुक्रबार टिकाको दिन र शनिबार तीन दिनमा झण्डै दुई हजारभन्दा बढी पर्यटक रौता घुम्न आएका छन् भने धेरै पर्यटकले रौता क्षेत्रमा नै बसेर दसैँको टिकासमेत मनाएको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले बताउनुभयो ।

त्यस्तै जिल्लाको ऐतिहासिक चौदण्डीगढी दरबार क्षेत्रमा पनि दसैँको टिकाको दिनदेखि दैनिक ५०० भन्दाबढीको सङ्ख्यामा पर्यटक घुम्न आउन थालेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङले बताउनुभयो । मौसम सफा रहेको र अहिले चौदण्डी क्षेत्रबाट चारैतिरको रमाइलो दृश्य अवलोकन गर्न सकिने भएका कारण धेरै पर्यटक आउन थालेको संयोजक तामाङले बताउनुभयो । चौदण्डी क्षेत्रमा आउने पर्यटक अधिकांश सुनसरी, मोरङ, झापा, इलाम, सप्तरी क्षेत्रबाट आउने गरेको चौदण्डी गढी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईले बताउनुभयो ।

मौसम सफा भएका कारण चौदण्डीको भ्रमण र चौदण्डीबाट उत्तरपट्टिका सात वटा हिमशृङ्खला एकैपटक अवलोकन गर्न सकिने र दक्षिणतिर सुनसरी, मोरङ, झापा, सप्तरी र सप्तकोशी नदीको अवलोकन गर्न सकिने हुनाले अहिले दसैँका समयमा धेरै पर्यटक आउने गरेको चौदण्डीगढी नगरपालिकाले जनाएको छ ।

यता रौता क्षेत्रमा दसैँका समयमा रौता पञ्चकन्या देवीको पूजाआरधना गर्न र दृश्य अवलोकन गर्न धेरै पर्यटक आएका हुन् । उत्तरतिर एकैपटक आठ हिमशृङ्खला र दक्षिणतिर तराईको सप्तरी, सिरहा, धनुषा, मोरङ, सुनसरी र बायनाकुलरबाट भारतको विहारसमेत अवलोकन गर्न सकिने हुनाले पनि यस क्षेत्रमा अहिले मौसम सफा भएको मौकामा धेरै पर्यटक आउने गरेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउनुहुन्छ ।

रौता क्षेत्रका झण्डै ५० भन्दाबढी होमस्टे तथा होटल र गाउँघरसमेत अहिले आन्तरिक पर्यटकले दिनरात भरिन थालेको रौतारानी होमस्टे सञ्चालक खिलराज मगरले बताउनुभयो । रौता क्षेत्रमा आउने पर्यटक प्रदेश नं १ का तराईका जिल्ला र प्रदेश नं २ का तराईका जिल्लाबाट बढी पर्यटक रौताको भ्रमणमा आउने गरेको रौतामाई गाउँपालिकाले बताएको छ ।

रौता क्षेत्र समुद्री सतहदेखि उदयपुरको मध्य पहाडी क्षेत्रको दुई हजार मिटरको उचाइमा अवस्थित छ भने चौदण्डीगढी समुद्री सतहदेखि अठार सय मिटरको उचाइमा अवस्थित छ । दुवै क्षेत्रलाई जिल्लाको महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । त्यस क्षेत्रमा विद्युत्, खानेपानी, यातायातका सुविधाको व्यवस्था गरिएपछि र लामो समयसम्म कोरोनाको कहरमा सुधार हुँदै गएका बेला दसैँका समयमा अहिले यी क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा ह्वात्तै वृद्धि हुन थालेको हो । (रासस)



प्रतिक्रिया दिनुहोस्