Logo

नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने क्रम जारी



काठमाडौं, ३१ असोज । वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज पनि जारी छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि शुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै (अखिल) बलि पूर्ति नभएसम्म जारी रहन्छ । यस वर्ष कात्तिक २ गते मङ्गलबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस दिनसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडा दसैँ समाप्त हुन्छ । बडा दसैँ मनाउन काठमाडौँ उपत्यकाबाहिर गएका मानिस राजधानी प्रवेश गर्ने क्रम पनि बढ्न थालेको छ । योसँगै सुनसान बनेको काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ । टाढा टाढा आफन्त एवं मान्यजन हुनेहरु अहिले पनि नवदुर्गाको प्रसाद ग्रहणका लागि गइरहेको देख्न सकिन्छ । (रासस)



प्रतिक्रिया दिनुहोस्