Logo

अल्मुताइरी नेपाल फर्किएलान् ?



काठमाडौं, ३१ असोज । भारतसँग नेपाली टोली साफ च्याम्पियनसीप फुटबलमा पराजित भएर उपविजेता हुँदा मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी निराश देखिए । लगातार दुईवटा पहेंलो कार्ड पाएकाले खेल हेर्न मात्र पाए निर्देशन दिन पाएनन् ।

अल्मुताइरीको खेल निर्देशनको अभाव टड्कारो देखियो । टोलीले पहिलो हाफमा जुन प्रदर्शन गरेर भारतलाई रोक्यो त्यो दोस्रो हाफमा रहेन । एक मिनेटबीच दुई गोल खाएपछि नेपाली टोली सम्हालिन सकेन । खेल भारतको पक्षमा गयो ।

फाइनलमा टोली पुगेपछि प्रशिक्षक अल्मुताइरीले एन्फाका पदाधिकारीप्रति आक्रोश पोखे । आफूलाई विभिन्न आरोप लगाएको भन्दै नेपाल नफर्कने घोषणा गरे । उनी नेपालका खेल पदाधिकारीप्रति निकै असन्तुष्ट देखिन्थे । साथै कुनै उपाधि दिलाएर आफ्नो देश फर्कने सोचमा थिए ।

अल्मुताइरीले उपविजेताको मेडल लगाए । उपविजेताले पाएको २५ हजार डलरको चेक पनि लिएर तस्बिर खिचाए । अब उनी नेपाली टोलीसँगै फर्कने हुन् या होइनन् ? चासो बनेको छ ।

मालदिभ्सबाट सिधै उनी आफ्नो देश जाने चर्चा छ । तर, उनको नेपालसँग भावनात्मक सम्बन्ध पनि देखिन्छ । दशैंको टीका मालदिभ्समा बसेर नेपाली टोलीसँग लगाएको तस्बिर सार्वजनिक भयो । यसबाट उनीप्रति नेपाली खेलप्रेमीले सहानुभूती राख्न थालेका छन् ।-Photo Source: ANFA



प्रतिक्रिया दिनुहोस्