Logo

सडक कालोपत्र भएपछि रत्नेचौरमा रौनक बढ्यो



गलेश्वर, १ कात्तिक:उत्तरतर्फ चाँदी झैँ टल्किएका धवलागिरि, नीलगिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला, लटरम्मै धान झुलेको समथर फाँट, बेनी–बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान त्यसै पनि रमाइलो रत्नेचौरको रौनक सडक कालोपत्र भएपछि झन बढेको छ ।

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर–अर्जम खण्डको एक हजार ३०० मिटर सडक कालोपत्र गरिएपछि रत्नेचौरको रौनक बढेको हो ।

समथर फाँटमा झुलेको धान, फाँटका बीचमा चिटिक्कको कालोपत्र सडक र पृष्ठभूमिमा धवलागिरि, नीलगिरिलगायतका हिमशृङ्खलालाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउन, टिकटक बनाउन र रमाउन यहाँ दैनिक सयौँको सङ्ख्यामा युवायुवती आउन थालेपछि अहिले रत्नेचौर गाउँ बेफुर्सदिलो बनेको छ ।

बेनी नगरपालिकाका तीन वडा समेटिएको यस सडक खण्डको जिरो किलोमिटर रत्नेचौरदेखि सडक कालोपत्रे शुरु भएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत यस वर्ष एक हजार ३०० मिटर सडक कालोपत्र गर्ने योजनाअनुसार काम गरिएको बेनी नगरपालिका–२ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले बताए । उनका अनुसार कालोपत्रसँगै अर्जमदेखि भकुण्डेसम्मको सडकलाई समेत फराकिलो बनाउने, नाली निर्माण गर्ने, ढलान गर्नेलगायतका स्तरोन्नतिका काम भएका छन् ।

सडक नालीसहित ८ दशमलव २० मिटर फराकिलो बनेको छ । सडक डिभिजनमार्फत सडक कालोपत्र गर्न एक करोड ३७ लाख र सडक स्तरोन्नति गर्न एक करोड १२ लाख ७६ हजारमा सडक कालोपत्र र स्तरोन्नतिको काम भएको वडाअध्यक्ष रावलले बताए ।

सडक फराकिलो बनाउने, ह्युमपाइप राख्ने, ग्राभेल गर्ने, मेसिनरी पर्खाल लगाउने र ढलानसमेत गरी स्तरोन्नतिलगायतका काम सम्पन्न भइसकेका र आगामी वर्ष अर्जमसम्म कालोपत्र गर्ने योजना रहेको उनले जानकारी दिए ।

सडकको ट्र्याक निर्माण भएको करिब दुई दशकपछि ग्रामीण सडक कालोपत्र आयोजना सञ्चालन भएपछि स्थानीयवासी उत्साहित बनेको स्थानीय अमरबहादुर बोगटीले बताए । “ यहाँदेखि सुरु भएको कालोपत्र अर्जम, ज्यामरुकोट, भकुण्डे हुँदै ज्यामरुकोटसम्म पुगेमा तीन वडाका हजारौँ नागरिक प्रत्यक्ष लाभान्वित हुन्छन्”, उनले भने ।

कच्ची सडकका कारण नियमित सवारीसाधन सञ्चालन नहुने, हिउँदमा धुलो र बर्खायाममा हिलोको सास्ती बेहोर्दै आएकामा सडक कालोपत्र सुरु भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ । सांसद भुपेन्द्रबहादुर थापाका अनुसार, रत्नेचौर–भकुण्डे हुँदै भकिम्ली जोड्ने १८ किलोमिटर सडकको डीपीआर नै तयार पारेर बहुवर्षीय आयोजना सञ्चालन भएको हो । आगामी वर्षसमेत बजेट विनियोजन गरी कालोपत्रेसहितको स्तरीय सडक निर्माणका लागि पहल गरिनेछ ।-रासस



प्रतिक्रिया दिनुहोस्