Logo

‘हनी ट्रयाप’ मा पार्दै रकम असुल्दै



काठमाडौं, १ कात्तिक । प्रहरीले २०७७ को चैत्र महिनामा दुई महिलालाई पक्राउ गर्यो । उनीहरु पैसावाल पुरुषहरुलाई पासोमा पारेर धम्क्याउँदै पैसा असुल्थे ।

३७ वर्षीया दुवै महिला घट्टेकुलोमा बसेर पुरुषहरुलाई पासोमा पार्दै ठूलै धनराशी जम्मा गर्दै आएका थिए । पुरुषहरुसँग सम्पर्क स्थापित गर्ने र गेष्ट हाउसमा डाकेर भिडियो या तस्बिर खिचेर ब्ल्याकमेल गर्थे । दुवै महिलाले लाखौं रकम मागेर हैरान पार्थे । नदिए फोटो र भिडियो बाहिर ल्याइदिने र बलात्कारको अभियोगमा समेत फसाइदिने धम्की दिन्थे ।

पैसावाल पुरुषलाई पासोमा पार्दै फसाउने अर्की महिला पनि पत्ता लागेकी छिन् । उनले पुरुषसँग यौन सम्बन्ध राखेर भिडियो समेत बनाउँथिन् । त्यही भिडियोका आधारमा पुरुषलाई ब्ल्याकमेल गर्न थाल्थिन् । यसरी उनले लाखौं रकम असुलिसकेकी थिइन् ।

पुरुषलाई हैरान पारेर रकम मागिरहेपछि दिन अस्वीकार गरे । त्यसपछि उनीहरुले प्रहरीमा बलात्कारको उजूरी दर्ता गरे । पीडितलाई पीडक बनाएर मुद्दा अदालतमा दर्ता गरियो ।

यसैगरी, धेरैवटा फेसबुक खोलेर पुरुषलाई जालोमा पार्ने र यौन सम्बन्ध राखेर भिडियो खिची ब्ल्याकमेल गर्नेहरु समेत भेटिएका छन् । उनीहरुले पासोमा परेका युवकहरुलाई धम्क्याएर पैसा असुल्ने गरेका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा हनी ट्रयापमा पारेर रकम असुल्ने महिलाहरुको संख्या बढ्दै गएको छ । त्यस्ता महिलाहरुमाथि प्रहरीले निगरानी बढाएको बुझिएको छ ।

ब्ल्याकमेलमा परेका पुरुषहरुको संख्या बढ्न थालेको र उजूरी समेत बढ्न थालेको बुझिएको छ । कतिपय पुरुषहरु त्यस्ता महिलाहरुका कारण निकै समस्यामा परेको तथ्यहरु फेला परेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्