Logo

निक्षेप हुने मालामाल, ऋण लिनेलाई ब्याजको भार



काठमाडौं, १ कात्तिक । वाणिज्य र विकास बैंकहरुले ब्याजदर बढाएपछि निक्षेपकर्ताहरु उत्साही भएका छन् । १ कात्तिकबाट लागू हुने गरी झण्डै १२ प्रतिशतसम्म निक्षेपमा ब्याज दिने घोषणापछि निक्षेपकर्ताहरु मालामाल हुने अवस्था बनेको छ ।

मुद्दतीमा रकम जम्मा गर्नेहरुले झण्डै १२ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । बैंक अनुसार फरक ब्याजदर छ ।

बैंकहरुले निक्षेपकर्ताका लागि ब्याजदर बढाएपछि ऋण लिनेहरु भने मर्कामा परेका छन् । कर्जामा ब्याजदर पनि बढाइएको छ । ऋण लिएर लगानी गर्नेहरु चिन्तामा परेका छन् । उनीहरु ब्याजको समेत भार बढेबाट लगानीका लागि निरुत्साहित हुने सम्भावना बढेको छ ।

ऋणको ब्याज बढेबाट उत्पादनशील क्षेत्रमा लगानी गर्न चाहनेहरु हतोत्साही हुन सक्छन् । यसले रोजगारी सृजनाका क्षेत्रमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।

बैंकमा रकम तान्न निक्षेपमा ब्याजदर बढाइएको देखिन्छ । निक्षेपको तुलनामा पाँच गुणा कर्जा प्रवाह भएपछि बैंकहरुको निक्षेपको रकम निकै कम भएको हो । उनीहरु जतिसक्दो बढी निक्षेप संकलनका लागि ब्याजदर बढाउने प्रतिष्पर्धामा उत्रिएका छन् ।

विशेषगरी जग्गामा अत्याधिक लगानी भएको छ । बितेको एक वर्षमा जग्गामा बढी लगानी हुँदा ऋण प्रवाह ह्वात्तै बढेको हो । बैंकबाट ऋण लिएर भएपनि शेयरमा लगानी गर्नेहरु पनि देखिएका छन् । तर, बैंकहरुले निक्षेपमा ब्याजदर बढाएलगत्तै सेयरमा लगानी गर्नेहरु निरुत्साहित हुन थालेका छन् ।

चालु आर्थिक वर्षको साउन देखि असोजसम्म पहिलो त्रैमासमा निक्षेप संकलनभन्दा ऋण प्रवाह झण्डै पाँच गुणाले बढेको देखिन्छ । यो सामान्य परिस्थितिभन्दा फरक हो । वित्तीय क्षेत्रमा आएको यो अवस्थाका कारण निक्षेपको ब्याजदरले किर्तिमान नै कायम गर्ने सम्भावना बढेको छ ।



प्रतिक्रिया दिनुहोस्