Logo

परम्परा तोड्दै देउवा, भारत छाडी बेलायतको यात्रा



काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ । उनी बेलायतको निम्तोमा भने जान लागेका होइनन् । बरु बेलायतको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन जान लागेका हुन् ।

देउवाको ग्लास्गोमा हुने सम्मेलनमा सहभागिता अर्थपूर्ण रहेको छ । उनले पाचौंपटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको गन्तव्य बेलायतलाई बनाएका छन् । बेलायतमा देउवा अध्ययन समेत गरेका थिए ।

नेपालका प्रधानमन्त्रीहरुको पहिलो विदेश भ्रमण भारत हुने गरेकोमा देउवाले यसपटक प्रधानमन्त्री भएपछि बेलायतलाई गन्तव्य बनाएका छन् । विगतमा पुष्पकमल दाहाल प्रचण्ड २०६५ मा पहिलोपटक प्रधानमन्त्री हुँदा चीनलाई विदेश भ्रमणको पहिलो गन्तव्य बनाएका थिए । यो घटनाले निकै चर्चा कमाएको थियो ।

ओलम्पिकको समापन समारोहमा सरिक हुन प्रचण्ड चीन पुगेका थिए । उनले त्यतिबेला चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओलाई भेटेका थिए । यसलाई इतिहासमा क्रमभङ्ग भनिएको थियो । भारतको पहिलो भ्रमण गर्ने परम्परालाई प्रचण्डले तोडेका थिए ।

देउवाले पनि भारत भ्रमण गर्ने चर्चा थियो । उनले चाँडै भ्रमणको निम्तो पाउने अपेक्षा गरिएको थियो । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली हालै भारत भ्रमणमा जाँदा देउवाको भविष्यमा हुने भ्रमणको तयारीका रुपमा हेरिएको थियो ।

विगतमा प्रचण्डले ओलम्पिक समापनमा भन्दै चीनको भ्रमण गरेजस्तै देउवाले पनि वर्ल्ड लिडर समिटमा सहभागी हुन भन्दै बेलायतको भ्रमण गर्ने भएका छन् । जे होस् उनले पनि परम्परालाई तोड्दै प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको गन्तव्य बेलायतलाई बनाए ।-File Photo



प्रतिक्रिया दिनुहोस्