Logo

सभामुखले आत्मालोचना नगरी संसद् खुल्दैनः एमाले प्रमुख सचेतक भट्टराई



काठमाडौं, कात्तिक २ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीको वडा अधिवेशनको चटारो थाहा हुँदाहुँदै पूर्वाग्रह राखेर कात्तिक ९ गते संसद् बोलाएको आरोप लगाएका छन् । सभामुखले गल्ती गरेँ, आइन्दा गर्दिनँ भनेर आत्मालोचना गरे संसद् अवरोधमा पुनर्विचार गर्न एमाले तयार भएको पनि उनले बताए ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले भने, “सभामुखले नेकपा एमालेप्रति बायस भएर कात्तिक ९ गते प्रतिनिधिसभाको बैठक तय गर्नुभएको छ । यसमा हाम्रो आपत्ति छ । त्यसैले मिति सार्न आग्रह गरेका छौं । यो एमालेको राष्ट्रिय स्तरको कार्यक्रममा अवरोध पुर्याउने षड्यन्त्र हो ।”

भट्टराईले एमालेले उठाएका मुद्दाका प्रश्नको यथोचित् समाधान नभएसम्म संसद् नखुल्ने स्पष्ट पारे । उनले भने, हामीले जे मुद्दा उठाएका छौं, त्यो सम्बोधन गर्नुपर्छ । सभामुखले गलत क्रियाकलाप सच्चाउनुपर्छ । मैले गल्ती गरेँ, त्रुटि गरेँ, आइन्दा गर्दिनँ भनेर एमालेप्रति गरेको विभेदमा आत्मालोचना गर्न तयार हुनुभयो भने पुनर्विचार गर्न सकिन्छ ।”

नेकपा एमाले संविधान निर्माणमा अगुवाइ गरेको लोकतन्त्रवादी पार्टी भएकाले संसदलाई सर्वोच्च संस्था मानेको उनले बताए । उनले भने, “संसद् भनेको जनताको आवाज मुखरित हुने थलो हो । नेकपा एमालेले खुला रुपमा सार्थक वार्ता गर्न भनेकै हो । तर सभामुखले अदालत र निर्वाचन आयोगसँग सेटिङ गरेर पार्टी विभाजनको मतियार बन्नुभयो । हामी संवादका माध्यमबाट अहिलेको गतिरोधको शान्तिपूर्ण समाधान गर्न चाहन्छौं । सभामुख र प्रधानमन्त्रीले चाहेमा वार्तामा बस्न तयार छौं ।”



प्रतिक्रिया दिनुहोस्