Logo

ओलीले बनाएकाहरु देउवाद्वारा बर्खास्तदेखि सरुवासम्म (सूचीसहित)



काठमाडौं, २ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायहरुमा बनाएको सेटिङ भत्काउने विषय उठेको थियो । ओलीले जहाँ जहाँ आफूनिकटस्थहरु नियुक्त गरे उनीहरुलाई बखास्त गर्ने देखि स्थायी नियुक्त भएकाहरुलाई सरुवा गर्नेसम्मको कदमहरु चालिए ।

देउवा प्रधानमन्त्री बनेदेखि चलेको यो कदम निरन्तर चलिरहेको छ । यस क्रममा राज्यका महत्वपूर्ण निकायमा नियुक्तहरु धमाधम पदमुक्त हुने र सरुवा हुने क्रम चलिरहेको छ ।

मन्त्रिपरिषदले १ कात्तिकमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी रोजकार कोषका कार्यकारी उपाध्यक्ष देवरो रोकालाई बखास्त गरिएका छन् । उनीहरु ओलीको कार्यकालमा नियुक्त भएकाहरु हुन् ।

यसअघि राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेकाहरु सबै फिर्ता बोलाइएका थिए । यसरी फिर्ता बोलाइएकाहरुमा भारतका लागि तत्कालीन राजदूत निलाम्बर आचार्य, बेलायतका लागि लोकदर्शन रेग्मी, चीनका लागि महेन्द्रबहादुर पाण्डेलगायत छन् ।

सरकार बनेलगत्तै प्रदेश प्रमुखहरु धमाधम हटाइएका थिए । प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरु हटाएर नयाँ ल्याइएका थिए ।

अर्थ मन्त्रालय र गृह मन्त्रालयका सचिवहरुको सरुवा गरिएको थियो । त्यसपछि सहसचिव देखि प्रमुख जिल्ला अधिकारीहरुको व्यापक सरुवा भयो ।

को हटाइए को सरुवा गरिए

१२ साउनमा लुम्बिनी प्रदेश प्रमुखबाट धर्मनाथ यादव हटाएको

१२ साउनमा गण्डकी प्रदेश प्रमुखबाट सीता पौडेललाई हटाएको

१२ साउनमा अर्थ मन्त्रालयको सचिवको जिम्मेवारीबाट शिशिरकुमार ढुंगानाको सरुवा । उनी ओलीको पालामा अर्थमा ल्याइएका थिए ।

१९ साउनमा भूमि सम्बन्धी आयोग खारेजको निर्णय देउवा सरकारले गर्यो । एमाले नेता देवी ज्ञवालीलाई अध्यक्ष बनाइएको आयोग नै खारेज गरेर उनीसहित जिल्लाहरुमा नियुक्तहरु समेत पदमुक्त भए । एमालेका कार्यकर्तालाई भूमि सम्बन्धी आयोगमार्फत् विभिन्न नियुक्तिहरु दिएर सेटिङ गरेको भन्दै खारेज गरिएको थियो ।

१९ साउनमा भूमी सम्बन्धी आयोग खारेज, अध्यक्ष देवी ज्ञवालीसहित आयोगका पदाधिकारी र विभिन्न जिल्लामा नियुक्त भएकाहरु स्वत पदमुक्त, मुद्दा अदालतमा विचाराधीन

२५ साउनमा नेपाल विद्युत प्राधिकरणबाट हितेन्द्र देव शाक्य पनि प्रमुख कार्यकारी निर्देशकबाट हटाइए । शाक्यले ४ वर्षका लागि नियुक्ति पाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेरपछि यो अदालतमा विचाराधीन छ ।

२६ साउनमा गृह मन्त्रालयका सचिवबाट महेश्वर न्यौपानेको सरुवा । ओलीको पालामा आकर्षक मन्त्रालयमा जिम्मेवारीमा ल्याइएका थिए

२७ साउनमा रेल्वे कम्पनिको महाप्रबन्धकबाट गुरुप्रसाद भट्टराईको राजीनामा । पदीय आचारण विपरित कार्य गरेकोमा स्पष्टिकरण सोधेर हटाउने प्रक्रिया बढाइएको थियो

३२ साउनमा प्रदेश नम्बर २ बाट राजेश झालाई प्रदेश प्रमुखबाट हटाइएको

५ असोजमा राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका ११ जना फिर्ता बोलाउने सरकारको निर्णय

१. डा. युवराज खतिवडा, अमेरिका
२. निलाम्बर आचार्य, भारत
३. महेन्द्रबहादुर पाण्डे, चीन
४. लोकदर्शन रेग्मी, बेलायत
५. वंशीधर मिश्र, बंगलादेश
६. सर्मिला पराजुली ढकाल, ओमान
७. नारदनाथ भारद्वाज, कतार
८. दावा फुटी शेर्पा, स्पेन
९. उदयराज पाण्डे, मलेशिया
१०. अन्जन शाक्य, इजरायल

११. प्रतिभा राणा, जापान

१ कात्तिकमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल बर्खास्त

१ कात्तिकमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल बर्खास्त

१ कात्तिकमा युवा तथा साना व्यवसायी रोजकार कोषका कार्यकारी उपाध्यक्ष देवरो रोका बर्खास्त



प्रतिक्रिया दिनुहोस्