Logo

परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्री वाङसँगको संवादमा सीमाबारे कुरा उठाए (विज्ञप्तिसहित)



काठमाडौं, २ कात्तिक । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद भएको छ । आज विहान भएको संवादमा दुई देशबीच सम्बन्ध विस्तार र सहयोगका सम्बन्धमा कुराकानी भएको परराष्ट्रमन्त्रालय प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

परराष्ट्रका अनुसार सीमा व्यवस्थापनबारे पनि छलफल भएको छ । विज्ञप्तिमा सीमाको विषयबारे छलफल भएको उल्लेख छ । पछिल्लो समय हुम्लालगायत विभिन्न भागमा सीमा समस्याको विषय उठेको छ । चीनसँग सरकारले सीमाको विषयबारे परराष्ट्रमन्त्रीस्तरीय कुराकानीमा विषय उठाएको यो दशकौंपछि पहिलोपटक हो ।

नेपालले केरुङ र तातोपानी नाकामा सहज तरिकाले सामान ढुवानीको विषयमा पनि कुरा उठाएको छ । पछिल्लो समय चीनले आयात र निर्यात दुवैमा कडाई गरेपछि व्यापारमा समस्या आइरहेको छ ।

यसैगरी, चिनियाँ विदेशमन्त्री वाङ यीले थप २० लाख कोभिड १९ विरुद्धको खोप अनुदानस्वरुप दिने घोषणा गरेका छन् । परराष्ट्रमन्त्री खड्काले सहयोगका लागि धन्यवाद दिएका छन् ।

दुई देशका परराष्ट्रमन्त्रीबीच व्यापार, सीमा व्यवस्थापनलगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । मललगायत विभिन्न सामाग्री ढुवानी सहज बनाउनेबारे पनि छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्