Logo

च्याम्पियन्स लिगः एट्लेटिकोमाथि लिभरपुलको रोमान्चक जित



काठमाडौं, ३ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले स्पेनको एट्लेटिको मड्रिडमाथि रोमान्चक जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले एट्लेटिकोलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

एट्लेटिको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले जित निकाल्दा मोहमद सलाह चक्किए । खेलको आठौं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको १३औं मिनेटमा नेबी केईटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

खेलको २०औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै एट्लेटिकोलाई २–१ को अवस्थामा ल्याएका थिए । यस्तै, खेलको ३४औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २–२ को बराबरीमा फर्काएका थिए ।

तर, खेलको ५२औं मिनेटमा ग्रीजम्यानले रातो कार्ड पाएपछि घरेलु टोली एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । खेलको ७८औं मिनेटमा लिभरपुलले पेनाल्टी पाएपछि सलाहले गोल गर्दै टोलीलाई ३–२ को जित दिलाए ।

जितसँगै समूह ‘बी’मा रहेको लिभरपुलले ३ खेलमा ३ जित निकाल्दै ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यस्तै, एट्लेटिको ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्