Logo

प्रधानमन्त्री देउवाको सय दिन : सूर्य थापा र रामहरि खतिवडाबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको सय दिन त्यत्तिकै खेर गएको टिप्पणी गरेका छन् । उनले भने,‘असार २९ गते उहाँ प्रधानमन्त्री हुनुभयो, कहिले साँढे पाँच जना, अब अपांगै त नभनौं, कहिले साँढे ६ जना हुँदै ८८ दिनमा उहाँले मन्त्रिमण्डललाई पूर्णता दिनुभयो । हंक पार्लियामेन्ट अथवा सामान्य अवस्थामा त सरकारको अवधि नै गु्ज्रिसक्दथ्यो । हंक पार्लियामेन्टमा त चार महिने, तीन महिने मन्त्री हुने हो । यो कुनै जनादेश प्राप्त बहुमतको सरकार त होईन, यो त टालाटुली बटुली सरकार हो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देउवाको नेतृत्व सरकार नियमित सरकार नभएको पनि जिकिर गरे । उनले प्रधानमन्त्री देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको कठपुतलीको संज्ञा दिए । उनले भने,‘शेरबहादुर देउवा त अहिले प्रचण्ड र माधव नेपालको स्वार्थ साधना गर्ने माध्यम मात्रै हो । मतियार हो । त्यो भएर उहाँले सरकार चलाईरहनुभएको छ । उहाँको सरकारले सय दिनमा यो गरेन भनेर के चर्चा गर्नु ?’

उता, नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले देउवा नेतृत्वको सरकारलाई जनादेशको सरकार होईन भनेर भन्नु गलत भएको टिप्पणी गरे । हिजो माधव नेपालको नेतृत्वको केपी ओली बसेको र मन्त्रीहरु बन्दा ओलीको प्रिय नेता माधव नेपाल नै भएको पनि खतिवडाको भनाई छ । उनले हिजो एमाले र माओवादी केन्द्रबीच एकता आफूहरुले नगराएको र अहिले विभाजन पनि नगरेको सुनाए ।

खतिवडाले आफूहरु पाँच वर्षको लागि प्रतिपक्षमा बस्न तयार भएको अवस्थामा कम्युनिष्टले सरकार चलाउन नसकेर खासगरी ओलीले सरकारलाई दोबाटोमा राखेर छोडेकोले आफूहरु सरकारको नेतृत्व गर्न आएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्