Logo

पीएसजीको रोमान्चक जित, एमबाप्पे पेनाल्टीमा चुके



काठमाडौं, ३ कात्तिक । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी लाइपजिगमाथि जित निकालेको छ ।

समूह चरण अन्तर्गत हिजो (मंगलबार) राति भएको खेलमा पीएसजीले लाइपजिगलाई ३–२ गोल अन्तरले पराजित गर्दै रोमान्चक जित निकालेको हो ।

पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे । केलियन एमबाप्पेले एक गोल गरे । लाइपजिगका आन्द्रे सिल्भा र नोर्डी मुकिलीले एक एक गोल फर्काए ।

खेलको ९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २८औं मिनेटमा सिल्भाले गोल गर्दै लाइपजिगलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ५७औं मिनेटमा नोर्डी मुकिलीले गोल गर्दा लाइपजिगले २–१ को अग्रता बनायो । यस्तै, खेलको ६७औं मिनेटमा मेस्सीले गोल गर्दै खेललाई २–२ गोलको बराबरी अवस्थामा पुर्याए ।

साथै, खेलको ७४औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–२ को रोमान्चक जित दिलाए । यस्तै, खेलको इन्जुरी समयमा पीएसजीले पाएको पेनाल्टीको मौकालाई एमबाप्पेले सदुपयोग गर्न सकेनन् ।

यस जितसँगै समूह ‘ए’ मा रहेको पीएसजीले ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने लाइपजिग लगातार तेस्रो हार व्यहोर्दै तालिकाको पुछारमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्