Logo

किसानलाई राहत उपलब्ध गराउन छलफल हुँदै



निरन्तर परेको वर्षाले किसानको धान बालीमा क्षति पुगेपछि किसानलाई राहत उपलब्ध गराउने विषयमा छलफल सुरु भएको छ । प्रदेश कृषि निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले बेलुकासम्म निष्कर्षमा पुगिने जानकारी दिँदै मुख्यमन्त्री र मन्त्रीसँग छलफल जारी रहेको बताए ।

“किसानलाई राहत उपलब्ध गराइने छ तर कसरी दिने छलफल भइरहेको छ,” उनले भने । लुम्बिनी प्रदेशका १२ जिल्लामा ३६ हजार ४८० हेक्टर क्षेत्रफल खेतमा काटेर भित्र्याउन तयार पारेको किसानको धानबालीमा क्षति पुगेको प्रारम्भिक विवरण छ ।

१२ जिल्लाका कृषि ज्ञान केन्द्रबाट सङ्कलन गरेको विवरणअनुसार प्रदेशमा कूल तीन लाख १७ हजार ४१४ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।

वर्षा सुरु हुनुअगाडि नै ५५ हजार ५४ हेक्टर क्षेत्रफलमा किसानले धान भित्र्याइसकेको र ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा काट्नका लागि तयारी भएको धान बाली ढलेको अवस्थामा रहेको निर्देशनालयका प्रमुख देवकोटाले जानकारी दिए । उनका अनुसार प्रदेशमा अहिलेसम्म १७.३ प्रतिशत काटेर भित्र्यउन लागेको, ११.४९ खेतमा काटेको र २९.४ प्रतिशत ढलेको धान रहेको प्रारम्भिक विवरण आएको छ । क्षतिको विस्तृत विवरण आएपछि क्षतिको प्रतिशत बढ्ने देवकोटाले जानकारी दिए ।

काट्न बाँकी रहेको धानमा क्षति नभएको र हावाले पल्टिएको धान वर्षा कम भएपछि उठाउन मिल्ने भए पनि काटेर खेतमै क्षति भएको किसानलाई आवश्यक क्षतिपूर्तिका लागि प्रदेश तथा सङ्घीय सरकारका विभागीय मन्त्रालयसँग छलफल सुरु भइसकेको देवकोटाले उल्लेख गरे ।

पश्चिम तराईका अधिकांश खेतमा असोजको अन्तिम साता धान पाकिसकेको थियो भने कतिपय ठाउँमा अझै धान पाक्दैछ ।

दसैँअगाडि र लगत्तै यहाँका साना तथा ठूला किसानले धान काट्न सुरु गरेका थिए । समयमै पानी परेको र मल पनि समयमै पाएकाले अन्य वर्षको तुलनामा यो वर्ष धान खेती बढी हुने अनुमान गरिएको थियो । लुम्बिनीमा प्रतिहेक्टर ३.५ मेट्रिक टन धान उत्पादन हुने आङ्कलन कृषि निर्देशनालयले गरेको थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्