Logo

प्रेम पूर्णे



   – दिवाकर प्रधान
 विदेशीको सिको गरे वर्षभरि पर्खेर बल्लबल्ल फरवरीमा प्रेम प्रस्ताव राख्ने दिन भेटिन्छ र आमापट्टिको न बाबुपट्टिको भ्यालेन्टाइन नाम जपेर डे मनाउनुपर्ने हुन्छ। फरवरीमा हुने वसन्त ऋतुराज हो, फूल फुल्छन् तर अन्नबाली पाकेका हुँदैनन्। आफ्नो सांस्कृतिक परम्परा बुझे दुइपल्ट प्रेम दिवस पाइन्छ ~ कोजागरी पूर्णिमा वा शरद् पूर्णिमा र अर्को कार्तिक पूर्णिमा वा धान्य पूर्णिमा वा मतिना पारू। यी दुवै पूर्णिमा रोमाञ्चक हुनाले प्रणयका लागि अनुकूल मानिएको छ। हुन पनि आकाशमा उज्यालो तर शितल पूर्णचन्द्र हुन्छ – माथि जून तल जूनकीरी – टिपूँटिपूँ लाग्ने। प्रकृति नै रतिरागात्मक हुन्छ।स्थानको भूगोलअनुसार कतिले शरद् पूर्णिमा र कतिले कार्तिक पूर्णिमा ग्रहण गरेको पाइन्छ। कार्तिक पूर्णिमाचाहिँ आजको एक मासपछि अर्थात् गाई तिहारको १५ दिनपछि आउँछ। मान्नेले दुइटै मानेका पनि देखिन्छन्। कति लेखन्तेले विष्णुकी लक्ष्मीले मान्छे जगाउँदै धन दिएकी वा कृष्ण-गोपिनी मिलेका कथा पनि लेखेर प्राकृतिक प्रेममा सांस्कृतिक धर्म जोड़िदिए।
किन यतिबेलै पर्‍यो त प्रेमपर्व? प्रश्नको उत्तर प्राकृतिक छ। वसन्त ऋतु ऋतुराज भए पनि प्रेम-प्रणयसुलभ पाइन्न। त्यसबेला अन्नपानीको अभाव भएकाले त्यसको जोहो गर्नपट्टि लाग्दा कताको प्रेम? शरद् समय अन्नपानीको राम्रो जोहो गरिसकेको छेक पर्दछ, र त चाड़पर्वसँगै प्रेमपर्व पनि मिलेको हुँदछ। ग्रीष्म र वर्षाभरि परिश्रमले लखतरान भएकाहरू अन्नपातको राम्रो जोहो भएपछि हृष्टपुष्ट, स्वस्थ अनि सुन्दर भई प्रेम-प्रीतिपट्टि ध्यान दिन भ्याउँछन् अनि त्यो प्रेम मङ्सिरपछि पनि चिस्यानमा न्यानो हुन सहयोगी हुन्छ।
प्रेमबिना मानव जीवन कल्पना गर्नै सकिन्न । प्रेम गर्ने क्षमताले गर्दा नै सृष्टिको प्रारम्भिक अवस्थामा मान्छे बाँचे । मानव-प्रेम यौनकै पछि मात्र लाग्ने होइन । यौन प्रेमको एउटा प्रबल पक्षचाहिँ अवश्य हो । सामाजिक सद्भाव, पारिवारिक संगठन, जीवन-मोह र जिवाइलाई जीवन दिने आधार हो प्रेम । नर-नारीमाझ हुने प्रेम प्रबल भावावेश हो । यसले नर-नारी दुवैलाई ऊर्जा दिने कुरा सिद्ध छ किनभने प्रेम मानवको आदिम प्रवृत्ति हो । मानवधर्मको आधारको रूपमा प्रेम प्रतिष्ठित थियो तर तथाकथित स्थापित धर्मले बनाएका नीति-नियमले भने राम्रो प्रेमलाई चाम्रो बनाउँदै लगे ।
स्थापित धर्महरू बनिनुभन्दा अघिको वेदले पनि कामबारे कुरा गरेकै छ। वेद लेखिनुअघि पनि प्रेम गर्थे, प्रेमगीत गाउँथे।पुरोहित र कविहरूले प्रेमका लागि देव-देवी पनि बनाइदिए – कामदेव र रतिदेवी । काम र रतिको राजधानी वत्सगुल्म । वेदको नैषधीय सूक्तमा कामबारे व्यापक चर्चा छ – “सृष्टिअघि सर्वत्र अँध्यारो थियो तर रात होइन, दिन बनिएपछि मात्र रात पनि बनियो ।” विद्वान्‌हरूले यसलाई पुरुषबाट प्रकृतिको कामना भएको बुझे । त्यस अँध्यारोमा सत्य-असत्य, अमृत-मृत केही थिएन । त्यस्तो अवस्थामा ‘मनसो रेतः’ अर्थात् परमले काम शक्तिद्वारा ब्रह्माण्ड बनाए भनिएको छ ।     अथर्ववेदले त शारीरिक प्रेमबारे कैञौ ऋचा लोक जीवनबाट समेटेको पाइन्छ ।  शारीरिक प्रेमबारे ईसापूर्व कालमै शास्त्रसमेत रचिए – वात्स्यायनको कामशास्त्र, कल्याणमल्लको रसरङ्गतरङ्ग, कोक्ककको कोकशास्त्र र अरू थुप्रै । महाकाव्यकालमा त भन्नैपर्दैन, कति हो कति – वसन्तवर्णन, वर्षावर्णन, शरद्‌वर्णन, हेमन्तवर्णन। नाट्यशास्त्र र काव्यशास्त्रहरूले रतिका लागि शृङ्गार रस स्थापित गरिदिए । प्राचीनकालदेखि नै नगर परियोजनामा उद्यान र प्रेम स्थल बनाइन्थे ।
अहिले भ्यालेन्टाइन डे भन्नेहरूलाई वात्स्यायन, कल्याणमल्ल, कोक्कक, कालिदास, माघ कुन चराका नाम हुन् कुन ! रोमन साम्राज्य ईसाई नभई रोमको सैन्य अभियानविरुद्ध युवा-युवतीलाई रतिक्रियामा भुलाउने भ्यालेन्टाइनभन्दा धेरै जेठा प्रेम-प्रेरक भारतीय आचार्यहरू भारतमै ओझेलमा परे । वास्तवमा भ्यालेन्टाइन (ईशाब्द २२६-२७०)-को पालामा रोमन साम्राज्य ईसाई भएको थिएन । रोमनहरू शक्ति सम्पन्न होऊन् भनेर राजा क्लेडियस द्वितीयले युवाहरूलाई सेनामा लाग्ने तर प्रेममा नभुलिने आदेश गरेका बेला राजाज्ञाविरुद्ध तरुणी-तन्नेरीहरूलाई उक्साएर प्रेम गर्न लाएर रोमन शासनलाई दुर्बल बनाउने काम भ्यालेन्टाइन पुरोहितले गरेका थिए । ई. ३१२-पछि रोमन राजा कन्सटेनटाइन पहिलो नै ईसाई भएर रोमन साम्राज्यमा ईसाई पन्थलाई राजधर्म घोषणा गरेको धेरैपछि ई. ४९६-मा मात्र उनलाई सन्त बनाइएको थियो । त्यस बेला भारतमा सन्त, योगी, कवि, आचार्य त कति थिए कति ।
तत्कालीन भारतमा वसन्तोत्सव वा शरद् पूर्णिमा वा कार्तिक पूर्णिमालाई प्रेम दिवसको रूपमा मनाउथे । विराट् भारतवर्षका देश-देशमा प्रेम प्रस्तावनाका लागि यिनै दिवस तोकिएका थिए । अधिकांश हिन्दू युवा संन्यासी र बौद्ध युवा भिक्षु बनेका बेला देशमा प्रजाको अभाव हुँदा यस्ता दिवसलाई राजाश्रय पनि प्राप्त भए । प्रजासूत्र त रोकिनु हुँदैन भनेर यौनपूजा (कामपूजा) प्रोन्नत गर्ने हुँदा खजुराहो, कोनार्क आदि मन्दिर बनिए भने नेपालमा बनाइएका मन्दिरका टुँड़ालमा मन्तिर मैथुनरत प्रतिमा वा चित्र कुँदिए ।
नेपालले ‘मतिना पारू’ प्रेम दिवस माने । नेवारहरू योमरि पुन्ही अर्थात् धान्य पूर्णिमाको भोलिपल्ट थिँल्ला गाः पारू (प्रतिपदा)-लाई नेपाल भाषामा ‘मतिना पारू’ अर्थात् प्रेम दिवस माने । नेवारी अर्थात् नेपालभाषामा मतिना भनेको प्रेम हो । पारू भनेको दिन हो ।
 विराट् भारतवर्ष अर्थात् अहिलेको दक्षिण एशिया अहिलेको जस्तो संकुचित थिएन । ढुक्कै प्रेम गर्दथे ।
 मुसलमानहरू आएपछि भने दक्षिण एशियामा शरीर ढाक्नैपर्ने वा पुरोहितको परामर्शबिना प्रेम गर्नु नहुने प्रथा बस्यो । मुसलमान आउनुभन्दा अघिको भारतवर्षका साहित्य, प्रतिमा र चित्रहरू हेर्दा थाहा भइहाल्दछ । सोह्रौँ शताब्दीदेखि भने कान मात्र छेँड्न जान्ने दक्षिण एशियालीले नाक पनि छेँड्नैपर्ने भए, देवीहरूका नाक पनि छेँड़े । यसरी पशुलाई जस्तै नाकडोरी लाइदिएर प्रेम अधिकार छिने । यति मात्र नभई विदेशी शासकहरूले देशी भरौटेहरूका भरमा नर-नारीको समानतामा विभेद ल्याउने, वर्ण व्यवस्थालाई हिन्दू समाजमा भेदका रूपमा ग्रहण गराउने, नारी र शूद्रलाई हेप्ने, डग्ने प्रथा बसाए भने पुरोहित र कविहरू लगाएर जनतालाई भक्तिमा डुबाइराख्ने निदेश दिए । वसन्तोत्सव सरस्वती पूजा भयो, प्रेम पर्व कोजाग्रज पूर्णिमा भयो, रास लीला कार्तिक पूर्णिमाको भजन-कीर्तन भयो । प्रेमलाई बलात् भक्तितिर भुलाएर प्रेमलाई पाप बनाए अनि भक्ति बनाए पुण्य।
भरोटेहरूका भरमा विदेशीहरूले बाल विवाह, सतिप्रथा प्रोन्नत गरे । नारी र शूद्रले साहित्य, संगीत, नाटक आदि मनोरञ्जनमा भाग लिन नपाउने बनाए, शिक्षादेखि वञ्चित गराए । संस्कृतका शृङ्गारिक नाटक प्रदर्शन लुप्तप्रायः भए । राजप्रासादमा जनगणले हेर्न नपाउने फारसी र हिन्दुस्तानी उर्दू नाटक हुने भए । त्यत्ति बेलै त हो भारतमा लोक नाटकहरू जन्मेका – तेलुगुमा कचिपुड़ी, मराठीमा तमासा र लावणी, उत्तरमा रामलीला, नेपालीमा मारुनी आदि । ती लोक नाटकमा नरले नै नारीको भूमिका लिनुपर्ने । कति सुधारवादी अङ्ग्रेज आएर नारी सशक्तीकरण, सामाजिक कुप्रथा निराकरण आदि उत्थानका कुरा गरे तर प्रशासनले चाहिँ वर्णभेद यथावत् राख्ने युक्ति गरे । वर्णभेद हटे भारतीय एक हुनेछन् भन्ने आन्तरिक भय उनीहरूसित छँदैथियो ।
भारतीय सुधारकहरूले प्राचीन भारतीय मूल्य चिनाउने प्रयास गर्दा पनि अधिकांश भारतीयले पत्याएनन् । उनीहरूले प्रेमको प्रचार पनि गरेकै थिए । भारतीयले मानेनन् । राणाको पालामा नेपाल अझ अटेरी भयो । पृथ्वीनारायण शाहले ‘दिव्योपदेश’-मा दिएका स्वदेशी मन्त्र राणाहरूले लत्याए, खाँ वस्ताद (संगीत शिल्पी)  राजप्रासादमा हुले, उर्दू र फारसी नाटक गर्न लखनऊका मुसलमान कलाकार झिकाए, हिन्दूस्तानी संगीत सिके । राजप्रासादलाई दरवार भन्न लागे अनि दरवारमा दरवारी भाषा बोल्ने भए । कस्तो दरवारी भाषा भनेको भने दिल्ली दरवारको अरबी-फारसी जस्तो ।
बालकृष्ण समले राखेको स्वदेशी कलाको प्रस्ताव उपेक्षा गरे । नेपालीको नाममा नेपालको सरकारी कामकाज अरबीमा गर्ने भए । अहिले आएर त अझ नेपालमा नेपाली भाषा लेख्नेहरूले अरबी, फारसी, उर्दू शब्द चलाउन हानथाप गर्ने भए । कतिजनाका लेखाइमा त क्रियापद मात्र नेपाली हुन्छ, अरू सरोकार, हालाँकी, बाबजूद, शिफारिश, पहिचान, बच्चा – केके हो केके । उर्दू अरबीको लत सुर्ती चेपेजस्तो हो। सुर्ती खाने लतीले छाड़्न नमानेजस्तै हाम्राहरूले विदेशी शब्द, गजल, मुशायरा, भ्यालेन्टाइन डेहरू चेप्छन् तर चेप्नेलाई  फलिफाप छैन अर्कालाई चाहिँ ह्वास्सै गह्नाउँछ।
भारत स्वतन्त्र भएपछि पनि विदेशी धर्म र भाषाको प्रभाव भारतमा रहिरह्यो । विदेशी धर्म र भाषाले भनेका कुरालाई श्रेष्ठ ठान्ने तर आफ्ना राम्रा कुरालाई मान्न संकोच गर्ने दास मानसिकताले गर्दा प्राचीन भारतीय मूल्य र मान्यताको पुनरुद्धार बाधित भए ।
प्रेम दिवस पनि आफ्नैमा थियो भन्ने बिर्सेको बेला ठिक्क बहुराष्ट्रिय कम्पनीहरूले भ्यालेन्टाइन डे थोपरिदिए ।
          विज्ञापनले उक्साएको प्रेमभन्दा आफ्नै परम्पराले दिएको प्रेम दिवसको गाम्भीर्य बुझ्ने हो भने यसको गौरव र गरिमाको गुरुत्वाकर्षण अतुलनीय छ। कृष्ण-प्रेमलाई व्यभिचार बुझ्ने अविवेकी पण्डाहरूका कारण पूर्वीय प्रेमपर्वको पतन अडकल्न सकिन्छ।
प्रेमको प्रकृतिलाई  पावन बनाउनलाई प्रेम दिवस राखिएको हो। प्रेमलाई विकृत बनाउने व्यभिचारदेखि जोगिनुपर्छ। प्रेम दिवसको नाममा दुराचारी हुनुहुँदैन। प्रेम गर्न पाउँदैमा कर्तव्य भुलेर यौनमै लिप्त हुनुहुँदैन।
०००



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम