Logo

सभापति देउवा सिंगो पार्टीको नेता बन्न चाहनुभएन : डा. चन्द्र भण्डारी



काठमाडौं, ३ कार्तिक । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवा सिंगो पार्टीको नेता बन्न नचाहेको टिप्पणी गरेका छन् । उनले सभापति देउवा सानो गुटमा बसेको आरोप लगाए । उनले भने,‘उहाँ सानो गुटमा बस्नुभयो, उहाँको सानो ईन्जिन छ, यसले सही ड्राईभ गर्न सक्दैन् । यो समस्या प्रचण्ड र ओलीमा पनि छ।’

रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको सय दिन पुगेको अवसरमा आज (बुधबार) आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै नेता भण्डारीले अहिले मुलुकको भूगोलको सुरक्षा गर्न सकेका छौं कि छैनौं ? यो महत्वपूर्ण कुरा भएको पनि सुनाए । उनले भने,‘यसमा पनि हामी चुकेका छौं । आज हाम्रो देश आर्थिक रुपले पछि परेको छ, नेपाली जनताहरुको अहिलेपनि अस्पताल र विद्यालयमा पनि पहुँच छैन् । सरकारी विद्यालयहरु प्रतिष्पर्धी छैनन् । जनताहरु दिन दिनै गरिब बनेका छन, नेताहरुमा देश बनाऔं भन्ने चिन्तन भएन । प्राकृतिक साधन स्रोतले हामी धनी छौं । हाम्रो कमजोरी नै देशलाई हेर्ने राष्ट्रिय एप्रोच नै भएन ।’

उनले नेपालमा कानूनले काम गर्न नसकेको पनि टिप्पणी गरे । उनले भने,‘कानूनले व्यक्तिको मुख हेर्दा धेरै गलत गर्नेहरु राजनीतिमा प्रवेश गरे । यो नै ठूलो रोग हो । राजनीतिमा पनि नयाँ पुस्ताले प्रवेश गर्न सकेका छैनन् । हामीले राष्ट्रलाई हेरेर योजना बनाउन सकेनौं । शेरबहादुर देउवाजीको सय दिनको उपलब्धिको कुरा गर्दा तीन महिनासम्म मन्त्रिमण्डललाई हामीले पूर्णता दिन सकेनौं । सय दिनमा तीन सय जना काम नगर्ने ठेगेदारहरु थुनिनुपर्दथ्यो । क्यान्सर, मिर्गोला र स्पाईनल कडको विरामीलाई पाँच हजार दिने व्यवस्था गरिएको छ । यो त राम्रो कुरा हो । वर्तमान चूनौति अनुसार नेपालको राजनीतिक नेतृत्व अघि बढ्न सकेन । नेपालको पोलिटिक्सको डिएनएमा नै खराब छ ।’

उनले हिजो देउवा र गिरिजाबाबुबीच द्धन्द्ध हुँदा देउवाले पार्टी फुटाएको पनि स्मरण गराए । अहिले सदन किन चलेन ? भन्दै उनले प्रश्न पनि गरे । भण्डारीले नेपालका कम्युनिष्टहरुमा विद्रोही नेचर भएको सुनाए । उनले भने,‘उहाँहरु सत्तामा जाँदा पनि विद्रोही, बाहिर बस्दापनि विद्रोही, सदनमा पनि विद्रोही । सर्वदलीय बैठकमा एमाले आएन । हिजो देउवाजी त सर्वदलीय बैठकमा जानुभएको थियो त । सदन नचल्नु भनेको दुःखद् कुरा हो । यदि पार्लियामेन्ट चल्न दिईएन भने नेपालको डेमोक्रेसी गुम्नपनि सक्छ। सबै दलका नेता खासगरी दलका नेता बन्न सकेका छैनन् । यी नेताहरुले देश बनाउन सक्दैनन् । यी नेताहरु विदा नहुञ्जेलसम्म देश बन्दैन् । उहाँहरुबाट मुलुक बन्दैन । बरु परिवार बन्ला । कांग्रेसको यो महाधिवेशनबाट नयाँ नेतृत्व आउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्