Logo

देउवा सरकारको १०० दिनको समिक्षा गर्दा म १० नम्बर मात्रै दिन्छु : शेरबहादुर तामाङ



काठमाडौं, ३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पार्टी कार्यालयका सचिव, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले शेरबहादुर देउवाको सरकारको सय दिनको समिक्षा गर्दा आफूले १०० मा १० नम्बर मात्रै दिने बताए ।

रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको सय दिन पुगेको अवसरमा आज (बुधबार) आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले भने,‘यो सरकारले खासमा ८८ दिनमा मात्रै पूर्णता पायो । अहिले सय दिनभन्दापनि १२ दिनको हिसाब गर्नुपर्ला । यो सरकार हरेक क्षेत्रमा असफल छ । विकास निर्माणमा पनि फेलियर छ । मित्रराष्ट्रको सम्बन्धको हिसाबले धेरै गतिलो चालामाला देखिएको छैन् । ओली सरकारले बनाएका राजदूतहरु उहाँहरुले फिर्ता बोलाउनुभएको छ । चीनतिर सिमाना विवाद छ भनेर बिच्काईदिनुभएको छ । महाकाली नदीको तुईन प्रकरणमा सरकार एक शब्दपनि बोलेको छैन् । एमसीसीको बारेमा पनि सरकार स्पष्ट छैन् । हरेक फिल्डमा सरकार फेल छ ।’

उनले आफूले कनिकुथो गरेर सरकारको सय दिनको समिक्षामा नम्बर दिनुपर्दा १० नम्बर दिन सक्ने बताए । उनले आफूहरुले सदन अवरुद्ध नगरेको जिकिर गरे । उनले भने,‘पार्लियामेन्टमा हिजोको सरकारले ल्याएका विद्येयकहरु ल्याएको थियो । पार्लियामेन्टको पहिलो बैठकमा विद्येयकहरु प्रस्तुत गर्नुपर्दथ्यो । हामी त अहिले सामूहिक रुपमा आवाज उठाएका हौं । बरु सदन त सत्तापक्षले अवरोध गरिरहेको छ । जुन तरिकाले एमालेजतिको पहिलो दललाई विभाजन गर्नको लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याईयो, त्यो पनि पार्लियामेन्टको बैठक चल्दाचल्दै हठात् अधिवेशन अन्त्य गरेर अध्यादेश यो सरकारले ल्यायो । विभाजनअघि नै हामीले केही सांसद साथीहरुलाई कारबाही गरेका थियौं । तर, कारबाही सदर भएन ।’

उनले सदन सुचारु गर्नको लागि आफूहरु सत्तापक्षीय र प्रतिपक्षी भएर वार्ता गर्न तयार रहेको सुनाए । उनले भने,‘प्रधानमन्त्रीसँग वार्ता गर्न तयार छौं । हामी सदन खुलाउन तयार छौं । त्यही वार्ताबाट निश्कर्ष निस्किन्छ ।’ उनले अहिले नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया अघि बढ्दा र सभापति देउवाजी कमजोर हुन लागे भने देउवाले यो संसद् छिट्टै भंग गर्ने पनि दाबी गरे । उनले भने,‘देउवाजीले मुलुकलाई चलाउन सक्नुहुन्न, उहाँ टोटल फेलियर हुनुभयो । अब मुलुकको समय त बर्वाद गर्नु हुँदैन् । निर्वाचनतर्फ मुलुक जान्छ । तर, अझैपनि मुलुक राम्रोसँग चलाउनुहोस भन्ने हाम्रो शुभकामना छ ।’



प्रतिक्रिया दिनुहोस्