Logo

सरकारले १०० दिनमा संविधानको रक्षा र जीवन रक्षा गरेको छ : दिनानाथ शर्मा



काठमाडौं, ३ कार्तिक । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका दलका नेता दिनानाथ शर्माले वर्तमान सरकारको सय दिनको समिक्षा गर्दा यसले राम्रो काम गरेको भन्दै निराश हुनुपर्ने ठाउँ नरहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको सय दिन पुगेको अवसरमा आज (बुधबार) आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले भने,‘यो सरकारले दुई वटा काम राम्रो गरेको छ । पहिलो खोपको व्यवस्था, र दोस्रो संविधानको रक्षा । संविधान समाप्त हुने अवस्थामा थियो । लोकतन्त्र समाप्त हुने अवस्था थियो । त्यसको लागि विभिन्न गतिविधि गर्नुपर्यो । अध्यादेश पनि संविधान रक्षाको प्रयत्न थियो । त्यसैले यो सरकारले सय दिनमा राम्रो काम भनेको संविधानको रक्षा र जीवन रक्षा गरेको छ ।’

उनले सरकारको सय दिनको कुरा गर्दा अरु कामले प्राथमिकता पाउन भने नसकेको स्विकारे । उनले लोकतन्त्रमा सहमति, सहकार्य र एकता नै अपरिहार्य भएको सुनाए । उनले भने,‘प्रतिपक्षका आवाजलाई सत्तापक्षले पनि सुन्नुपर्छ । अहिले विद्यमान समस्या पनि वार्ता र सम्वादको माध्यमबाट हल गर्नुपर्छ । व्यक्ति विशेषलाई हेर्ने कारण नै नेपालको लोकतान्त्रिक आन्दोलनमा संकट पैदा भएको हो । अहिले विद्यमान निर्वाचन प्रणालीअनुसार नेपालमा अब एकल दलले बहुमत सिद्ध गर्न सक्दैनन् । सहमति र सहकार्यको संस्कृतिलाई विकास गर भन्छ । हामीले त्यसो गर्न सकेनौं । बरु, निषेधको राजनीति गर्यौं । यो गलत कुरो हो । हामी सच्चिनुपर्छ ।’

उनले अहिले नेपालका पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएको पनि टिप्पणी गरे । उनले भने,‘पार्टीभित्र लोकतन्त्र छैन् । निरंकुशतन्त्र छ । दलका कार्यकर्ता पनि देशप्रति भन्दा नेताको बफादारी गरेर खासगरी चाकरी गर्नमा केन्द्रित छन् । यो नै हाम्रो लोकतन्त्रको ठूलो समस्या हो । हामी आलोचक बन्न सकेनौं ।’



प्रतिक्रिया दिनुहोस्