Logo

टी–ट्वान्टी विश्वकप क्रिकेटः नामिबियाको पहिलो जित, श्रीलंका सुपर १२मा प्रवेश



काठमाडौं, ४ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा समुह ‘ए’ अन्तरगत हिजो (बुधबार) भएका दुई खेलमा नामिबिया र श्रीलंकाले जित निकालेका छन् ।

युएई र ओमानमा जारी विश्वकप क्रिकेटमा हिजो भएको पहिलो खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।

साथै, हिजो नै भएको दोस्रो खेलमा श्रीलंकाले आयरल्याण्डलाई ७० रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।
नामिबियाको यो जित टी–ट्वान्टी विश्वकपमा ऐतिहासिक पहिलो जित हो ।

नेदरल्यान्ड्सले दिएको १ सय ६५ रनको लक्ष्य नामिबियाले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नामिबियाको जितमा डेविड विजले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि नेदरल्यान्ड्सका म्याक्स ओडोडले ७० रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै नामिबियाले सुपर–१२ मा पुग्ने सम्भावना कायम राखेको छ । पहिलो चरणको समूह ‘ए’ मा रहेको नामिबियाले २ खेलमा २ अंक जोडेको छ ।

साथै, श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा १ सय १ रनमा अलआउट हुनपुग्यो आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन जोडे ।

आयरल्याण्डलाई सस्तैमा समेट्न श्रीलंकाका महेश थिकसानाले सर्वाधिक ३ विकेट लिए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ्स खेले भने पाथुम निशान्काले ६१ रन जोडे । आयरल्याण्डका जोस लिट्टलले सर्वाधिक ४ विकेट लिए । जितसँगै श्रीलंकाले सुपर १२ मा प्रवेश गरेको छ । पहिलो चरणको समूह ‘ए’ मा रहेको श्रीलंकाले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्