Logo

बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रधानमन्त्री देउवाको निर्देशन



डोटी, ४ कात्तिक: बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिराले घर भत्किएकाहरुको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए । उनले भने, “बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्नेछ, विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक रहेको छ, तपाइँहरुले प्रभावितलाई चुस्त रुपमा सेवा दिनुहोला ।”

आज बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी पुगेका प्रधानमन्त्री देउवाले त्यहाँका बाढी प्रभावित क्षेत्रका व्यक्तिहरुको उद्धार र राहातका लागि निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आले एवं पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन् ।

प्रधानमन्त्रीसहितको उक्त टोली बाढीबाट प्रभावित भएको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको निरीक्षणका लागि जाने क्रममा अहिले दिपायल पुगेका हुन् ।

प्रधानमन्त्रीसहितको सो टोली आज बिहान काठमाडौँबाट सुर्खेतहुँदै दिपायल आएको हो । टोलीले त्यहाँका बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्