Logo

हाम्रा अन्नदाताहरुलाई परेको पीडामा सक्दो सहयोग गरौं : निवर्तमान प्रदेश प्रमुख डा.अहिराज



काठमाडौं, ४ कार्तिक । बेमौसमी वर्षाका कारण किसानहरुमा परेको पीडा र मारमा सबै नेपालीले सक्दो सहयोग गर्न प्रदेश नं. २ का निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले आग्रह गरेका छन् । बेमौसमी भारी वर्षाका कारण अर्बौंको धानबाली नष्ट भएको छ भने ८८ जनाको ज्यान गएको र कैयौं जना बेपत्ता भएका छन् । यस्तो पीडाको घडीमा सबै नेपालीले सहयोग र सद्भाव देखाउनुपर्ने डा.अहिराजले बताएका हुन् । यसबाट सबभन्दा बढी मारमा किसानहरु परेकाले नेपालीहरुले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।

डा.अहिराजले प्रभावित क्षेत्रहरुमा अनुगमन गर्दै एक भिडियो सन्देश जारी गरेका छन् । उनले भनेका छन्, ‘यी पीडामा म थुप्रै किसानहरुसँग भेटें, खेतबालीमा गएँ, उहाँहरुको आँखाभरि आँशु छन् । किसानहरुको परिवारमा एक खालको पीडा, भविष्यको चिन्ता, भोलि के खाने, लालाबालालाई कसरी पाल्ने, जीवन कसरी धान्ने भन्ने पीडामा छन् ।’

किसानहरुको पीडाबारे बोल्दै उनले भने, ‘अहिले किसानको पीडा सुनिदिने वा बोलिदिने कोही भएन । हामी सबै नेपालीहरु जहाँ र जसरी भएपनि किसानहरुका लागि मुठ्ठिदान गरौं । तपाइँ हाम्रो सहयोग र साथले किसानका अनुहारमा खुशी आउँछन् ।’

उनले हाम्रा अन्नदाताको आँशु पुछ्न, अनुहारमा खुशी ल्याउन र खानको व्यवस्था गरिदिन नेपालीहरु सक्षम रहेको बताउँदै सबै चाह्यो भने यो असम्भव नरहेको जिकिर गरेका छन् । ‘म सबै नेपालीहरुलाई हात जोडेर बिन्ती गर्न चाहन्छु कि किसानहरुलाई परेको यो पीडा र दुःखमा हामी साथ दिऔं,’ उनले भनेका छन् ।

उनले हाम्रा अन्नदाताहरु मारमा पर्दा कोही पनि मौन बस्न नहुने धारणा राखेका छन् । ‘हामी तपाइँसँग छौं भन्ने किसानलाई हौसला दिनका लागि अब घरबाट पाइला बाहिर निकाल्नुपर्ने आवश्यकता छ’, उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्