Logo

ओलीले एक हप्तामै सरकार ढाल्ने कुरा किन गरे ? प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव !



काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चाहे एक हप्ताभित्रै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार ढल्ने भनेर दिएको अभिव्यक्तिले नेपाली राजतीति तरंगित बनेको छ । ओलीले किन यसो भने त ? यो बहसको विषय बनेको छ ।

हुन त उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र जनमोर्चामा लोभी/पापी नेता भएकोले प्रधानमन्त्री बनाईदिन्छु भन्ने बित्तिकै उनीहरुले नै यो सरकार ढाल्ने संकेत गरेका छन् ।

तर, अध्यक्ष ओलीले एमालेले चाह्यो भने एक साताभित्रै यो सरकार ढल्छ भनेर त्यत्तिकै नभनेको विश्लेषकहरुको भनाई छ । पछिल्लो समय एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुबीच चुनावलाई लक्षित गरेर सहकार्यबारे छलफल भैरहेको उच्च स्रोतको दाबी छ। अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा अघि सार्ने तयारी गरेको बुझिएको छ । ओलीले यसको लागि प्रचण्डसमक्ष प्रधानमन्त्री बनाउनेदेखि चुनावी सहकार्यसम्मको प्रस्ताव गरेको स्रोतको दाबी छ ।

ओलीले आगामी निर्वाचनमा कांग्रेससँग नै एमालेको कडा प्रतिष्पर्धा हुने बताईरहेका छन् । माओवादीसँग सहकार्य गरेर चुनावमा जाँदाखेरि फाईदा हुने उनको भनाई छ । प्रचण्डसँग सहकार्य गर्दा उता भर्खरै नयाँ पार्टी गठन गरेका माधव नेपाललाई पनि ठेगान लगाउन सकिने उनको ठम्याई छ । अहिले ओलीले अन्तर्राष्ट्रिय शक्ति केन्द्रसँग डिल गरिरहेका छन् । एमाले र माओवादी मिल्दा नै मुलुकको हित हुने दुवै पार्टीका प्रभावशाली नेताहरुको भनाई रहेको छ ।

हिजो काठमाडौंमा आयोजित एमालेको वागमती प्रदेश कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले आफूहरूले चाहेको अहिलेको सरकार सात दिनभित्र ढल्ने दावी गरेका थिए । उनले सरकारमा लोभीपापीमात्रै रहेको भन्दै ओलीले उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने टिप्पणी गरेका थिए ।

उनको भनाई थियो–‘‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ, यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि, दिए सिद्धिने कुरा छ त्यहाँ ।’

यद्धपी ओलीले आफूहरुको अभिष्ट सरकार बनाउने नभएर देश बनाउने भएको जिकिर गरेका थिए । उनले भनेका थिए–‘तर हाम्रो अभिष्ट सरकार बनाउने होइन । देश बनाउने र सरकार बनाउने कुरा फरक छ । हामी जित्ने, सरकार बनाउने कुरा किन गरिराखेका छौं भने जित्नका लागि । देश बन्ने निश्चित गरेरमात्रै हामी सरकार बनाउँछौं ।’

एमाले–माओवादी केन्द्रबीच फेरि तत्कालै सहकार्य हुने सम्भावना कत्तिको छ ? त्यो त समयले नै देखाउला । तर, ओली र प्रचण्ड दुवैले त सार्वजनिक फोरममा तत्काल सहकार्यको सम्भावना नरहेको बताउँदै आएका छन् ।

हालै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले एमाले र माओवादी मिलेर अघि बढुन् भन्ने धारणा राखेकी थिईन् । उनले आफूहरुले एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन् भन्ने चाहेको धारणा राखेकी थिईन् ।

उनको यस्तो अभिव्यक्ति आएपछि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजिएको भन्दै उनको आलोचनासमेत भएको थियो । राजदूत होउले चिनियाँ कम्युनिष्ट पार्टीको एक सय वर्ष पुगेको अवसरमा नेपाली नेताहरुको विचारसहितको पुस्तकको भर्चुअल विमोचन कार्यक्रममा (यही अक्टोबर १२ तारिख ) बोल्दै यस्तो धारणा राखेकी थिईन् । file photo/ReportersNepal

ओलीले यसकारण भने ‘मंसिरमै एमाले महाधिवेशन हुन्छ हुन्छ’

प्रचण्डलाई च्याँखेको संज्ञा दिदै ओलीले भनेः चुनाव पछि समाप्त हुन्छन्



प्रतिक्रिया दिनुहोस्