Logo

बागमती प्रदेशसभाको बैठक ३ बजेका लागि सारियो



हेटौंडा, ४ कात्तिक । बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठक सारिएको छ । बैठकमा नेकपा (एमाले) सहभागी हुने भएपछि बैठक ३ बजेका लागि सारिएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि बिहीबार प्रदेशसभा बैठक आह्वान गरिएको हो । यसअघि बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।

बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर, विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय गरेको हो ।

मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मतदान हुने सम्भावना भने कम रहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्