Logo

एमाले महाधिवेशन अगावै रावलसहित १० नेताले विद्रोह गर्लान् ?



काठमाडौं, ५ कात्तिक । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनको विषयमा विवाद बल्झिएको छ । आजको स्थायी कमिटी बैठकमा यसबारे छलफल हुने भएको छ ।

बैठकले १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने भएको छ । कार्यदलमा उपाध्यक्ष भीम रावल संयोजक छन् भने महासचिव इश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट सदस्य छन् ।

एमालेभित्र रावल सहित १० नेताहरुले १० बुँदे सहमति हुबहु कार्यान्वयनमा जोड दिइरहेका छन् । अध्यक्ष केपी शर्मा ओली भने हुबहु कार्यान्वयन गर्ने पक्षमा छैनन । यसकारण दुई पक्षबीच विवाद चलिरहेको छ ।

१० बुँदेको विषय एमाले महाधिवेशन नजिकिदै गर्दा बल्झिएको हो । मंसिर १०, ११ र १२ गते चितवनमा एमाले महाधिवेशन तय भएको छ । त्यसअघि १० बुँदेको एजेन्डा वार कि पारमा जाने भएको छ । सहमति कार्यान्वयन नभए एमालेबाट रावलसहित १० नेताहरुले विद्रोह गर्ने सम्भावना पनि देखिएको छ ।

रावलले एमालेभित्रको ओलीविरोधी पक्षको नेतृत्व गर्न थालेका छन् । उनले १० बुँदे सहमति कार्यान्वयनलाई अहिलेको एजेन्डा बनाएका छन् । त्यही एजेन्डाको बलमा एमालेभित्र उनले ओलीलाई चुनौती दिन थालेका छन् । ओलीले पेलेरै जान खोजे महाधिवेशन अगावै विद्रोहको सम्भावना पनि बढेको छ ।



प्रतिक्रिया दिनुहोस्