Logo

संसद्लाई पूर्ण अवधि चलाएर चुनावमा जानुपर्छः देव गुरुङ



काठमाडौं, कात्तिक ५ । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले संसद्को पूरा कार्यकालमा असर पर्ने गरी चुनावमा जान नहुने बताएका छन् । सर्वोच्च अदालतले संविधान र संसद्को रक्षा र स्थायित्वका लागि दिएको फैसलामा दायाँबायाँ गर्दा अनावश्यक विवाद हुने पनि उनले औंल्याए ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “सर्वोच्च अदालतको फैसलाले संसद्को पूर्ण पदावधिको परिकल्पना गरेको छ । संविधानको मार्गचित्रलाई अक्षरंश पालना नगर्दा अनावश्यक विवाद हुन्छ । अब हामीले संविधान र संसद्को रक्षाका लागि राष्ट्रिय सहमति जुटाउन प्रयास गर्ने हो । त्यो नहुँदा जति दलहरुबीच सहमति र सहकार्य हुन सक्छ, त्यसलाई निरन्तरता दिने हो ।”

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जति चाहे पनि एमसीसी अघि बढ्न नसक्ने बताए । उनले भने, “देउवाको चाहना आफ्नो ठाउँमा होला । तर गठबन्धन दलहरुबीचमा आपसी सहमतिमा अगाडि बढ्ने सम्भावना छैन । एमसीसी राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय हो । इन्डो प्यासिफिक स्ट्राटेजीमा हामी सहमत छैनौं ।”

नेता गुरुङले विदेशी सैन्य हस्तक्षेप गराउन एमालेले संसद् अवरुद्ध गरिरहेको आरोप पनि लगाए । बाढीपीडितको राहतका लागि सरकारले पहल गरिरहेको पनि उनले बताए ।

माओवादी केन्द्रले ६, ७ लाख कार्यकर्ता संगठित सदस्य विस्तार अभियान देशभरि चलाउने र त्यो असम्भव नभएको पनि उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्