Logo

१० बुँदे सहमतिको औचित्य समाप्त भएको छैनः ज्ञवाली



काठमाडौं, कात्तिक ५ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले १० बुँदे सहमतिको औचित्य समाप्त नभएको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले भने, “१० बुँदे सहमति कार्यान्वयनका लागि पार्टी अध्यक्ष केपी ओलीकै हस्ताक्षरमा अन्तर पार्टी निर्देशन–१२ जारी भएको हो । हिजो अस्ति कुन सन्दर्भमा के बोल्नुभयो, त्यो छुट्टै विषय हो । माधव नेपाल नरहेपछि पनि अध्यक्ष ओलीले जस्ताको तस्तै कार्यान्वयन हुन्छ भन्नुभएको हो । धेरै ठाउँमा कार्यान्वयन भएको पनि छ । तर केही जनवर्गीय संगठन, सुदूरपश्चिम, प्रदेश २ मा समस्या छ । आजको स्थायी समितिको बैठकमा यसबारे छलफल हुन्छ ।”

एमाले उपाध्यक्ष ज्ञवालीले पार्टी फुट्ने सम्भावना नभएको पनि दाबी गरे । उनले भने, “हामी आफ्नो पार्टीमा छौं, आफ्ना कुरा लगातार उठाइरहेका छौं । डर भएको भए एमालेमा सामेल हुने नै थिएनौं । आजको स्थायी समितिको बैठकमा एजेन्डा छ । हिजो स्थायी समितिमा विधान महाधिवेशनका उपलब्धि र कमीकमजोरीबारे समीक्षा भयो । चितवनमा महाधिवेशन सम्पन्न गर्न रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति बनाएका छौं ।”

नेता ज्ञवालीले महाधिवेशनमा अध्यक्षको उम्मेदवार को बन्ने भन्ने अहिले केही पनि स्पष्ट नभएको बताए । उनले भने, “अध्यक्ष को भन्ने विषयमा हामी प्रवेश गरेकै छैनौं । केपी ओलीले पनि उठ्छु भन्नुभएको छैन । पार्टी विभाजनका कारण अहिले सिंगो पार्टी नै अप्ठ्यारोमा छ । एमालेविरुद्ध देशी विदेशी शक्ति लागेका छन् । त्यसैले हामी सचेत भएर काम गरिरहेका छौं ।”



प्रतिक्रिया दिनुहोस्