Logo

पीएनजीलाई हराउँदै बंगलादेश सुपर १२ मा प्रवेश



काठमाडौं, ५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेश सुपर १२ मा प्रवेश गरेको छ । युएई र ओमानमा जारी टी–ट्वान्टी विश्वकपमा बंगलादेशले दोस्रो जित निकाल्दै सुपर १२ मा प्रवेश गरेको हो ।

ओमान क्रिकेट मैदानमा बिहीबार भएको खेलमा बंगलादेशले पपुवा न्यू गिनी (पीएनजी)लाई ८४ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १ सय ८२ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको पीएनजी १९ ओभर ३ बलमा अलआउट हुँदै ९७ रनमात्र बनाउन सक्यो ।

पीएनजीका किप्लिन डोरिगाले सर्वाधिक ४६ रन बनाए । कप्तान असाद भाला ६ रनमात्र जोड्न सके । पीएनजीलाई सस्तैमा समेट्न बंगलादेशका शकिब अल हसनले सर्वाधिक ४ विकेट लिए ।

साथै, मोहमद सैफुदीन र ताक्सिन अहमेदले समान २÷२ विकेट लिए । यस अघि ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । बंगलादेशका कप्तान महमुदउल्लाहले ५० रनको अर्धशतकीय इनिङ्स खेले भने शकिब अल हसनले ४६ रन जोडे ।

पीएनजीका डामिन राभु, काबुआ मोरिया र असाद भालाले समान २-२ विकेट लिए । समूह ‘बी’ को बंगलादेशले ३ खेलमा ४ अंक जोड्दै बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ । पीएनजीको लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्