Logo

‘साहसिक गतिविधि’ गरेर प्रचण्डले दिए राजनीतिक जोखिम मोल्ने सन्देश



काठमाडौं, ५ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कठोर राजनीतिक कदम चाल्ने संकेत गरेका छन् । उनले अभिव्यक्तिमार्फत् त्यस्तो संकेत केही पहिल्यै गरिसकेका थिए । त्यस्तै गतिविधिहरु पनि गरेका छन् ।

प्रचण्डले आफू जोखिम मोल्न सक्ने र साहसी नेता भएको सन्देश दिन सुकुटेमा रयाफटिङ गरे । धुलिखेलमा जिपलाइनरको मज्जा लिए । यी दुवै साहसिक पर्यटन अन्तर्गत पर्छन् । साहसी कार्यमा आफू पछि नपर्ने सन्देश प्रचण्डले दिएका छन् ।

प्रचण्डले केही समय अघि फेरि संघर्षमा होमिन पछि नपर्ने बताएका थिए । आफू बलिदानी दिन पनि पछि नपर्ने उनको अभिव्यक्ति थियो । कुनैपनि बेला ठूलै संघर्षमा होमिनुपर्ने उनको भनाई थियो । प्रचण्ड कुनै कठोर कदम चाल्दैछन् र राजनीतिमा अर्को जोखिम मोल्दैछन् भन्ने सन्देश पनि हो ।

पछिल्लो समय प्रचण्ड शक्ति सञ्चयमा लागेका छन् । राजनीतिक रुपमा विचार मिल्ने शक्ति मिलाउन लागेका छन् । जसमा माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई देखि नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्य किरणसम्म छन् । यो एकता सफल बनाएर चुनावमा अभूतपूर्व सफलता हासिल गर्ने उनको रणनीति छ ।

प्रचण्ड सत्तामा बलियो पकड बनाउन चाहन्छन् । त्यसका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले खडा गरेको सत्ताको जञ्जाल तोड्न चाहन्छन् । त्यस अनुरुप उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रोत्साहित गर्दै आएका छन् ।

सत्ताको महत्वपूर्ण निकाय अन्तर्गत संवैधानिक निकायको नियुक्तिहरुमाथि प्रचण्डको चासो छ । तत्कालीन प्रधानमन्त्री ओलीको पालामा अध्यादेशमार्फत् संवैधानिक परिषद्को बैठक बसी नियुक्तिको सिफारिश भई अख्तियार, निर्वाचन आयोग, लोक सेवा आयोगलगायत महत्वपूर्ण निकायमा नियुक्तिहरु भएका थिए । जसमा प्रचण्डनिकट कोही परेनन् । यसलाई तोड्न प्रचण्डले बल लगाउँदैछन् ।

अहिले संवैधानिक निकायमा नियुक्तिसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । यो मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नै विपक्षी र निर्णायक देखिएका छन् । त्यसैले जबरामाथि प्रचण्डले दबाब सृजना गरेका छन् । उनीमाथि महाभियोगको डर समेत देखाइएको छ । प्रचण्डले प्रधानन्यायाधीश जबरालाई भेटेर कुनै गम्भीर सन्देश दिएको बुझिएको छ । त्यो जबरामाथि दबाब सृजना गर्ने हेतुले भएको बुझिएको छ ।

संवैधानिक निकायमा भएका नियुक्तिको विषयमा अदालतमा परेको मुद्दालाई नै विषय बनाएर जबरा चौतर्फी घेराबन्दीमा परेका छन् । यो घेराबन्दीमा सत्ता गठबन्धनमा रहेका केही शिर्ष नेताहरुको भूमिका पनि खुल्दै गएको छ । अबको संघर्ष अदालतको मामलामा केन्द्रित हुने घटनाक्रमले देखाएको छ ।

प्रचण्डको सुकुटेमा रिफ्रेस हुने यात्रा देखि साहसिक खेलसम्मले कुनै कठोर कदमको संकेत गरेको छ । उनी कुनै हालतमा संवैधानिक निकायको नियुक्ति खारेज गरी ओलीले खडा गरेको अघोषित सत्ता साम्राज्य भत्काउन चाहन्छन् । उनी यसलाई गर या मरको रुपमा लिएर बढिसकेका छन् । त्यसका लागि जोखिम मोल्न तयार भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्