Logo

फिल्म सुटिङमा नक्कली भनेर चलाएको बन्दुकबाट सक्कली गोली निस्किएपछि…



एजेन्सी, ५ कात्तिक । अमेरिकाको न्यू मेक्सिकोमा ‘रस्ट’ फिल्म सेटमा गोली चल्दा क्यामेरापर्सनको मृत्यु भएको छ भने निर्देशक घाइते भएका छन् । घटनामा नक्कली भनेर चलाएको बन्दुकबाट सक्कली गोली निस्किएको बुझिएको छ ।

सीएनएनका अनुसार घटनामा मृत्यु हुनेमा फिल्मकी क्यामेरापर्सन ४२ वर्षीया हेलेना हचिन्स हुन् । निर्देशक जोएल सुजाको अस्पतालमा उपचार भइरहेको छ ।
फिल्म ‘रस्ट’ को सेटमा अभिनेता एलेक बाल्डविनको प्रोप गनबाट गोली चलेको थियो । उनले शुटिङको लागि गोली चलाएको र गोली क्यामेरापर्सन र निर्देशकलाई लागेको प्रहरीले जनाएको हो ।

अभिनेता बाल्डविनले सुटिङका लागि प्रयोग गरिने गनबाट मिसफायर भएको समाचार एजेन्सीहरुलाई बताएका छन् । उनीविरुद्ध अहिलेसम्म कुनै उजुरी दर्ता भएको छैन । हलिउडको फिल्म शुटिङका क्रममा असली हतियार प्रयोग हुने गरे पनि गोलीको भने प्रयोग हुँदैन । गोली चलेको वा हतियार प्रयोग भएको आभाष मात्र गराइन्छ ।



प्रतिक्रिया दिनुहोस्