Logo

ओलीलाई ‘नेतृत्वमा दोहोराउने’ महाधिवेशनका लागि एमाले बढ्यो



काठमाडौं, ५ कात्तिक । नेकपा एमालेको महाधिवेशनको प्रक्रिया ६ कात्तिकबाट अगाडि बढ्दैछ । देशभरका वडा तहको अधिवेशन शनिबार हुँदैछ ।

एमालेका १० लाखभन्दा बढी क्रियाशील सदस्यहरु वडा अधिवेशनमा सहभागी हुनेछन् । एमाले विभाजनपछि महाधिवेशनको प्रक्रिया अगाडि बढ्न लागेको हो ।

बाढीपहिरो प्रभावित क्षेत्रहरुमा भने वडा अधिवेशन सारिएको छ । १५ कात्तिकभित्र सारिएको ठाउँमा अधिवेशन गर्ने तयारी भएको छ ।

देशभरका ६ हजार ७ सय ४५ वडाबाट एमालेले प्रतिनिधि चयन गर्नेछ । वडाबाट पालिका, क्षेत्र, जिल्ला हुँदै महाधिवेशनमा केन्द्रीय कमिटी र पदाधिकारी चयन हुनेछ ।

५३ वटा स्थानीय निकायमा पालिका अधिवेशन ९ गते हुने तय भइसकेको छ । पालिकाबाट ५ जना वा १० जना संगठित सदस्यबराबर एकजना प्रतिनिधि चयन हुनेछन् ।

एमालेको महाधिवेशन प्रतिनिधि छनोटका लागि १६५ निर्वाचन क्षेत्रबाट प्रत्येकबाट कति संख्यामा प्रतिनिधि चयन हुने केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने भएको छ ।त्यसका लागि १२ कात्तिकमा केन्द्रीय कमिटी बैठक डाक्ने निर्णय आजको स्थायी कमिटी बैठकले गरिसकेको छ ।

एमालेमा १ अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव गरी १५ सदस्यीय पदाधिकारीको विधानले व्यवस्था गरेको छ ।

अध्यक्षमा केपी शर्मा ओली चयन हुने निश्चितप्रायः छ । उनी अध्यक्ष बन्न मिल्ने गरी एमालेको विधान नै संशोधन गरी उमेर हदमा संशोधन गरिएको छ । जस अनुसार ७० वर्षसम्म उमेरहद राखिएको छ तर ७० वर्ष रहेको अवस्थामा अध्यक्ष चुनिएमा कार्यकालभर उमेरहद लाग्नेछैन ।

एमाले महाधिवेशन मंसिर १०,११ र १२ गते चितवनमा आयोजना गर्ने तय भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्